सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ४ की २९ वर्षिय महिला श्रीमानले कुटपिट गरेको भन्दै गत पुष १५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिइन् । श्रीमानले मादकपदार्थ सेवन गरेर सधै पिट्ने गरेको उनी बताउँछिन् । “श्रीमानले रक्सी खाएर दिनरात पिट्ने गरेपछि सहन सकिन, एक्लै प्रहरी कार्यालय गएर निवेदन दिए ,” उनले भनिन् । निवेदन दिएको केहि दिनमै प्रहरीले उनको श्रीमानलाई छलफलका लागि प्रहरी कार्यालय बोलाएको थियो । प्रहरीले बारम्बार छलफलमा बोलाउँपनि उनको श्रीमान नआएपछि घरमै पुगेर ल्याएको उनले बताइन् । “धेरै फेर प्रहरी फोन गर्दा पनि प्रहरी कार्यालय गएनन् । त्यसपछि घरमै आएर प्रहरीले लगेको हो ,” उनले भनीन् । प्रहरीले छलफल गराएपछि दुवै जनाको सहमती भएको प्रहरीले बताएको छ । उहाँको श्रीमानले कुटपिट नगर्ने भन्दै सहमती गर्नुभयो । उहाँ पनि श्रीमानसँगै बस्ने भनी सहमती हुनुभयो, दुवै जनाको सहमती पछि हामी घर पठायौँ प्रहरीले बतायो ।
नगरपालिका ४ कै ३१ वर्षिय महिला सासुले कुटपिट नै गरेको भन्दै गत फागुन ५ गते प्रहरी कार्यालय पुग्नुभयो । सासुले सधै कुटपिट गर्ने गरेको उनले बताएकि थिइन् । “सासु बुहारीको सधै जसो झगडा हुने रैछ । सासुले कुटपिट नै गर्न थालेपछि निवेदन दिन यहाँ आउनुभएको थियो ।” प्रहरी स्रोतले भन्यो । सासुबुहारीलाई नै राखेर छलफल गराएपछि मिलेर घर गएको प्रहरी बताएको छ ।
सिन्धुलीमा घरेलु हिंसाका घटनामा उजुरी गर्नेको संख्या भने घट्दै गएको छ । जिल्लामा सबैभन्दा बढी घरेलु हिसां हुने गरेको भए पनि प्रहरी कार्यालयमा पीडितले उजुरी दिन छाडेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरी कार्यालयमा उजुरी नआए पनि जिल्लामा घरेलु हिंसाका घटना बढिरहेको छ । पछिल्लो समय घरेलु हिंसाका घटना प्रहरी कार्यालयमा दर्ता घट्दो भए पनि हिंसा बढ्दो रहेको छ । पहिले प्रहरीकहाँ गएर मात्रै घटना अदालतमा जान्थे अहिले सोझै अदालतमा जाने प्रवृत्ति बढ्दा प्रहरी कार्यालयमा घरेलु हिंसाका उजुरी कम परेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी कार्यालयमा आउने उजुरीको संख्या कम देखिए पनि हिंसाका घटनामा कमी नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रका र अशिक्षित महिलामा घरेलु हिंसा अझै व्यापक रहेको छ । समाजको डरले अझै पनि कतिपय घरेलु हिंसा बाहिर आउन सकिरहेका छैनन् । घरेलु हिंसाका घटना बाहिर ल्याउँदा महिलाले थप मानसिक तथा शारीरिक पीडा सहनुपर्ने अवस्था सिर्जना हुने भएकाले यस्ता घटना बाहिर अझै आउन नसकेको सरोकारवालाको भनाइ छ । महिलाले हिंसा भोगेको कुरा माइती, घर, छिमेकी र आफन्तहरू सबै जानकार हुँदाहुँदै पनि पतिपत्नीको झगडा परालको आगो भएको भन्दै घटना बाहिर आउन सकेका छैनन् । महिलामाथि हुने घरेलु हिंसालाई घरभित्रको मामिलाका रूपमा लिने भएकाले यस्ता हिंसा सिधै प्रहरीकहाँ आउन सकिरहेका छैनन् । हिंसाको प्रकृति बदलिए पनि घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मिले बताउने गरेका छन् ।
यस्तै, घरेलु हिसां न्यूनिकरण गर्न स्थानिय सरकारले पनि विभिन्न कार्यालय संचालन गरिरहेको छ । जिल्लाको फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू–बुहारीलाई सम्मान गर्ने गरेको छ । गाउँघरमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासू–बुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो । ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिकाले मेलमिलापका साथ सासू–बुहारीसँगै बसेका सासू–बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला आढाएर सम्मान गर्ने गरेको छ ।स्थानिय सरकारले संचालन गरेको यस्त कार्याक्रमले पनि घरेलु हिसांको घट्ना कम हुदै गएको महिलाअधिकारकमीले बताएका छन् ।
चालु आर्थिक वर्षको आठ महिला अवधिमा ४१ वटा घरेलु हिसांको मुद्धा दर्ता भएका छन् । ती मध्ये ३६ वटा मुद्धा पछौट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । ५ वटा मुद्धा पछौट हुन बाकिँ रहेको छ । गत आर्थिक वर्ष आर्थिक वर्ष २०७८÷७९ मा १०३ वटा घरेलु हिसांको मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ९१ वटा घरेलु हिसांको मुद्धा दर्ता भएका छन् ।