बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको साधारण सभा सम्पन्न

आइतवार , फाल्गुण २७, २०८०

सिन्धुली, – नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको ५३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभाको उदघाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै बागमति प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले सिन्धुली जिल्ला ३ वटा राजमार्गले छोएको जिल्ला भएको र दुर्घटनाको जोखीम क्षेत्र भएको हुनाले दुर्घटना बाट मानविय क्षती हुन नदिन राजमार्गमा एम्बुलेन्स सहित तत्काल उद्धार गर्ने एउटा टोलि खटाउनको लागि बिगत एक बर्ष देखि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले प्रस्ताव गर्दै आएकोमा आगामी आर्थिक बर्षको बटेजमा कार्यक्रम नै तय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

रेडक्रसले संचालन गर्न लागेको निशुल्क ब्लड बैंकको संचालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँको भनाई छ । उहाँले विपद बाट नागरिकलाई जोगाउन सरकार एकल रुपमा सक्षम नभएको बताउदै सबै निकाए एक भएर योजना बनाए विपद जोखीम न्युनिकरण गर्न सकिने बताउनुभयो ।

देशको समसामयिक राजनितीक अवस्थाको बिषयमा बोल्दै उहाँले देशमा राजनैतिक स्थितरता बिना शान्ती र समृद्धी सम्भव नभएको बताउनुभएको छ । देशमा भएको राजनितिक अस्थीरता कुनै एक ब्यक्तीको कारण नभइ देशमा अबलम्बन भएको निर्वाचन प्रणालीको कारण भएको उहाँको भनाई छ । अहिलेको निर्वाचन प्रणालीमा कुनैपनि एउटा पार्टीको बहुमत नआउने र सरकार बनाउन गठबन्दन बनाउनुपर्ने बाध्यता रहेकाले निर्वाचन प्रणालीनै परिवर्तन गर्नुपर्ने उहाँले बताउनुभयो । संविधान संसोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा बागमति प्रदेशसभा सदस्य सुष्पा भुजेलले नेपाल रेडक्रस सोसाइटी स्थापना कालदेखिनै पारदर्शिताको साथ अगाडी बढीरहेको बताउनुभएको छ । रेडक्रसले नागरिक स्तरिमा गरिरहेको कार्य प्रसंसनिय रहेको बताउदै रेडक्रसको पारदर्शिता र गरिमा बनाई राख्न शुभकामना ब्यक्त गर्नुभएको छ ।

जिल्ला सभापति अशोक श्रेष्ठले नेपाल रेडक्रस सिन्धुलीले बर्षभरी संचालन गरेको महत्वपूर्ण कामको बिषयमा जानकारी गराउनुभएको छ । रगत र रेडक्रस, राहत र रेडक्रस, जहाँ मानव पिडा त्यहाँ रेडक्रस अर्थात सबै विपदमा रेडक्रस भनेर रेडक्रसको छविलाई चिनाउन रेडक्रस सिन्धुली सफल भएको सभापति श्रेष्ठले बताउनुभयो । निशुल्क ब्लड बैंक संचालनको लागि एक करोडको अक्षय कोष स्थापना गर्न थालीएको रकम संकलन अभियान मार्फत हाल सम्म १ करोड ४१ लख रुपैया संकलन भइसकेको समेत उहाँले जानकारी दिनुभयो ।

साधारण सभाको अवसरमा रेडक्रसको ६७ सय ४८ जना स्वयमसेवक मध्य उत्कृष्ट स्वयमसेवक सुनकोशी उपशाखाका मणिराज आचार्य, उत्कृष्ठ कर्मचारी हरु, बर्ष भरि उत्कृष्ठ काम गर्ने सुनकोशी उपशाखा प्रथम, माढीबजार उपशाखा द्धितिय र सोल्पाठाना उपशाखा तृतिय लाई नगद सहित सम्मान गरिएको छ ।

त्यस्तै रेडक्रसको निशुल्क आखाँ अप्रेसनमा सहयोग पुर्‍याउने उपशाखा तथा बिभिन्न संस्थाहरु, रेडक्रसमा बसैभन्दा बढी सदस्य तथा महिला सदस्य आबद्ध गराउने उपशाखाहरु, रक्तदान गरेर सहयोग पुर्याउने संस्थाहरुलाई समेत सम्मान गरिएको छ । संस्थाको प्रगती प्रतिवेदन रेडक्रसका मन्त्री लाल बहादुर कार्कीले प्रस्तुत गर्नुभएको छ भने बार्षिक आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष पुरुषोतम प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा ५३ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया