सिन्धुली – नौवटा स्थानिय तह रहेको सिन्धुलीका सबै पालिका सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका दुईवटा नगरपालिका कमलामाई र दुधौली सहित सातवटा गाउँपालिका, तिनपाटन, गोलन्जोर, फिक्कल, मरिण, सुनकोशी, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन् । ९ स्थानीय तहका ७९ वडामध्ये अधिकांशमा सडक पुगेको छ ।
दुधौली नगरपालिकाको १४ वटै वडामा सडक पुगेको नगरप्रमुख दिनेश अधिकारी दनुवारले बताउनुभयो । “नगरपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् ”, उहाँले भन्नुभयो, “मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएका छन् । ग्रामिण भेगका वडामा पनि सडक विस्तार भइसकेको छ ।” मदन भण्डारी राजमार्गले दुधौली नगरपालिकाको नौ वटा वडा छोएको छ । राजमार्गले वडा नम्बर १ देखि ५ सम्म र वडा नम्बर ७ देखि १० नम्बर वडालाई छोएको मेयर दनुवारले बताउनुभयो । साथै नगरका वडा भित्र स्थानिय सरकार, प्रदेश र संघको सहयोगमा कालोपत्रे सडक समेत निर्माण भएका छन् । “वडाका भित्रि सडक पनि कालोपत्रे निर्माण भएको छ । तीनै तहको सरकार र एसियन बिकाश बैंक लगायत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दातृसंस्थाको सडक कालोपत्रेको काम भएको छ”,उहाँले भन्नुभयो । नगरपालिकाले सडक निर्माणलाई प्राथमितामा राखेर काम गरेको नगरप्रमुख दनुवारको भनाइ छ । स्थानिय तह आएसँगै गाउँगाउँमा मोटरबाटो पुगेको उहाँले बताउनुभयो । “स्थानिय सरकार आए सँगै गाउँगाउँमा मोटरबाटो पुगेको छ । प्रत्येक वडाको आफ्नै भवन निर्माण भएको छ । दुधौली नगरपालिकाको प्रशासनिक भवन समेत निर्माण भएको छ”, उहाँले भन्नुभयो ।
तिनपाटन गाउँपालिकाको पनि प्रत्येक वडा सडक संजालसँग जोडिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले जानकारी दिनुभयो । दोश्रो कार्यकालपनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका मगरले गाउँपालिकाको ११ वटै वडामा सडक विस्तार भएको बताउनुभयो । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पु¥याएका छौँ”, उहाँले भन्नुभयो, “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।”
कमलामाई नगरपालिकाको १४ वटै वडामा सडक विस्तार भएको छ । ग्रामिण भेगमा विस्तार भएको सडकमा भने बर्खाको समयमा बन्द हुदाँ स्थानियले सास्ति खेप्नु परेको गुनासो गरेका छन् । नगरपालिकाको धेरै वडा विपि साथै मदनभडारी राजमार्गसँग जोडिएका छन् । गाउँमा सडक विस्तार हुदाँ स्थानियस्तरमा उत्पादन भएका वस्तुको बजारीकरण गर्न सजिलो भएको स्थानियहरुले बताएका छन् ।
मरिण गाउँपालिकाको पनि सबै वडामा सडक विस्तार भएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर १ मा भने कच्चि सडकको कारण वर्खाको समयमा समस्या हुने गरेको उहाँको भनाइ छ । यस्तै गोलन्जोर गाउँपालिकाको पनि प्रत्येक वडा सडक संजालसँग जोडिएको छ । जिल्लाको सुनकोशी, घ्याङलेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकाका वडा सडक सँग जोेडिएका छन् ।