सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले संघमा आबद्ध हुने सवैको निःशुल्क बिमा गर्ने बताउनु भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सिन्धुली उद्योग बाणिज्य संघको सदस्यता लिएका र भोलिका दिनमा सदस्य लिनेहरूको दुर्घटनाको बिमा संघले गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “ हाम्रो संघमा आबद्ध सदस्यहरूको दुई लाख ५० हजार बरावरको दुर्घटनाको बिमा गरिएको छ । जसमा एक लाख बरावरको दुर्घटना औषधी उपचार खर्च रहने छ र मृत्यु भएमा दुई लाख बिमा रहने छ ।” पहिलो चरणमा ४८० जना व्यवसायी सदस्यहरूलाई समावेश गरिएको र क्रमशः यसलाई बढाउने लैजाने उहाँले भन्नुभयो ।
संंघमा आबद्ध सदस्यहरूको व्यवसायमा कुनै दैविक विपत् परेका भलाईकोषवाट आर्थिक सहयोग दिने र सदस्यको मृत्यु भएमा १५ हजार सहयोग गर्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।
सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिको संयुक्त आयोजनामा संचालन भएको सिन्धुली महोत्सव २०७९ मुख्य उद्देश्य अनुसार दमकल खरिद प्रक्रिया अन्तिम चरण (टेन्डर पश्चात् दमकल बडी निर्माण र रंग रोगन) मा रहेको जानकारी दिदै अवको २५ दिन भित्र दमकल आइसक्ने बताउनुभयो ।
जिल्लामा हुने आगलागिका घटनाहरुलाई मध्यनजर गर्दै दमकल खरिद गर्ने उदेश्यले २०७९ साल पुषमा उद्योग वाणिज्य संघ सिन्धुलीले महोत्सव संचालन गरेको थियो । महोत्सव बाट उठेको नाफा ३१ लाख, कमलामाई नगरपालिकाको ३० लाख संगै जिल्लाका अन्य स्थानीय तहको सहयोगमा ८४ लाख ६६ हजारमा दमकल खरिद गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । दमकल खरिदका लागि अझै रकम अपुग रहेकाले थप रकम उद्योग वाणिज्य संघ बाट ब्यहोर्नै उहाँको भनाई छ ।
आफ्नो टिम आय पछि संघले दिने सेवालाई प्रभावकारी बनाउन सर्वप्रथम सचिवालयको व्यवस्थापन गरि विषयगत कर्मचारीहरूलाई छुट्टै कार्यकक्षको व्यवस्था, पदाधिकारी कक्ष, पदाधिकारी बैठक कक्ष र करिब १२० जनाको सभा हल निमार्ण गरिएको बताउनुभयो ।
व्यापारी व्यवसायीहरू र आम उपभोक्ताहरुलाई सचेत गराउन सचेतनात्मक कार्यक्रम सञ्चालन, उद्योगिव्यवसायिहरुले आफ्नो व्यापार व्यवसाय गर्दा अपनाउनु पर्ने व्यावसायिक आचार संहिता सहित उपभोक्तहरुको हक हित सम्बन्धी ब्रोसर मार्फत सचेतना कार्यक्रम संचालन गरिँदै आएको बताउनुभयो । संघले सिन्धुली जिल्लामा रगतको अभावले कसैले मृत्यूवरण गर्नु नपरोस् भनी नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको अभियानलाई ब्लड बैङ्क स्थापनाको लागि एक लाख रुपैंया सहयोग हस्तान्तरण गरि सकेको समेत बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरूलाई सेवा सम्बन्धी जानकारी दिन स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको, जिल्लामा हुने प्रकोप वा विपतको लागि रेडक्रस सिन्धुलीसँग समन्वय गरि सङ्घबाट तत्काल खाद्य सामाग्री वितरण गर्ने कार्य गर्दै आएको, जिल्लामा व्यापार व्यवसाय संचालनगर्दै आउनु भएका उद्योगी व्यापारीहरूलाई संघको छाताभित्र आबद्धता गर्न, संघमा आबद्धता किन, आबद्धताको फाइदा आदी विषयमा जानकारी दिन घरदैलो कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।
संघको सेवा र उपस्थितिलाई प्रभावकारी बनाउन गोलन्जोर, ध्याङ्लेख, फिक्कल र हरिहरपुरगढी गाउँपालिकामा संघको शाखा विस्तार गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।