सिन्धुली– नेकपा एमाले बागमती प्रदेश कमिटिले दुध किसानको आन्दोलनमा सबै नेता कार्यकर्तालाई सहभागी हुन अपिल गरेको छ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा आगामी सोमबार (फाल्गुन २१ गते) माइतीघर मण्डलामा हुन गईरहेको वृहत विरोध सभामा एमालेका सबै नेता कार्यकर्ताहरुलाई सहभागी हुन एमालेले अपिल गरेको हो ।
एमालेको बागमती प्रदेश कमिटिका उपसचिव तथा प्रचार विभाग प्रमुख भक्त कुमारी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा किसानले उत्पादन गरेको दुधको भुक्तानी समयमा नपाएको कारण किसानले गाई भैँसीलाई ढुटो, दानाहरु खुवाउन पनि नसकेको अवस्था सृजना भएकोले किसानहरुको आन्दोलनमा प्रदेश कमिटीले एक्यबद्ध जनाएको उल्लेख गरिएको छ ।
‘विगत केही समयदेखि अखिल नेपाल किसान महासंघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ। किसानले उत्पादन गरेको दुधको भुक्तानी समयमा नपाएको कारण र त्यसबाट सृजित समस्या जस्तै गाई भैंसीलाई ठुटो, दानाहरु खुवाउन पनि नसकेको अवस्था सृजना भइरहेको छ । दुग्ध उद्योगी र सरकारी पक्षसंग निरन्तर छलफल वार्ता भएता पनि कार्यन्वयन नभएको कारणले अखिल नेपाल किसान महासंघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानहरु आन्दोलित छन् । उक्त आन्दोलनमा नेकपा (एमाले) बागमती प्रदेश कमिटी एक्यबद्धता जनाउदै किसानलाई समयमा भुक्तानी प्रदान गर्न सरकारसंग जोडदार माग गर्दछ र फागुन २१ गते माइतीघर मण्डलामा हुन गईरहेको बृहत विरोध सभामा नेकपा एमालेका सबै नेता कार्यकर्ताहरुलाई यस आन्दोलनमा सहभागी हुन समेत हार्दिक अपित गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।