बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली अस्पतालका डाक्टरहरुको गुनासोः रगतको सुनिश्चितता भएन

बुधवार , फाल्गुण १६, २०८०

सिन्धुली – सिन्धुली अस्पतालका डाक्टरहरुले रगतको सुनिश्चितता नभएको गुनासो गरेका छन् । अस्पतालमा शल्यक्रिया वा अन्य प्रयोजनकालागि रगतको जोहो गर्न हम्मेहम्मे हुने गरेको यहाँका डाक्टरहरुले बताएका छन् ।

सिन्धुली अस्पतालमा ब्लड बैंक नभएकाले रक्तदाता खोजेर रगतको जोहो गर्नुपर्ने बाध्यता रहेको डाक्टर प्रेरित देवकोटाले बताउनुभयो । उहाँले गत माघ २५ गते नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा रगत नपाएको घट्ना स्मरण गर्दै भन्नुभयो, “ एक जना महिला सिन्धुली अस्पतालको इमर्जेन्सीमा बलिन्द्रधारा रगत बगेर छटपटाउँदै आइपुग्नु भयो । रगतको मात्रा हेर्दा ती महिलालाई तुरुन्तै रगत चढाउनु पर्ने देखियो । हाम्रो सिन्धुलीमा रगतको कुबेर मानिएको रेड क्रसमा सम्पर्क गरियो । तर, उताबाट हामीसँग रगतको भण्डारण छैन भन्ने उत्तर आयो ।” ती महिलाको लागि डिउटीमा खटिएको डाक्टरले रगत दान गरेको देवकोटाले बताउनुभयो ।

त्यस्तै, सिन्धुली अस्पतालमै कार्यरत स्त्री तथा महिला रोग विशेषज्ञ डा. संगिता पुडासैनिले रगत अभावको अर्को घट्ना सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्नुभयो । “३० बर्ष उमेर कि निम्न आर्थिक स्थितीकि महिला ९ महिना कटेर गर्भवती बेथाले च्यापी हाम्रो अस्पताल आइपुगेकी थिइन् । उनको पेटमा जुम्ल्याहा सन्तान थियो । जुम्ल्याहा मध्यको पहिलो बच्चा उल्टो बसेको र बच्चाले दिसा गरेको हरियो पानी बगिरहेको थियो । उच्च जोखिम मन्जुरिनामा लिएर यथासिघ्र अप्रेसनको तयारी गरियो । अस्पतालको आफ्नो रगत बैंक छैन । रगतको सधैं हाहाकार नै हुन्छ । ती महिलाको रगतको मात्रा कम भएकोले अर्को जोखिम थपियो ”, डा.पुडासैनिले फेसबुकमा लेख्नुभएको छ । जसोतसो रगतको जोहो गर्दै सफल शल्यक्रिया गर्न सफल भएको उहाँले बताउनुभयो ।

यी दुई घट्ना त प्रतिनिधि घटना मात्र हुन् । सिन्धुली अस्पताल सिन्धुलीमा रगत अभाव हुँदा बिरामीसहित बिरामीको आफन्त छट्पटाउनुपर्ने अवस्था रहेको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले बताउनुभयो । सिन्धुली अस्पतालमा ब्लड बैंक निर्माण गर्न आफूले प्रदेश सरकारलाई गुहारेपनि अन्य जिल्लामा रेडक्रसले नै रगत उपलब्ध गराईरहेको हुँदा रेडक्रससँग समन्वय गर्नुपर्ने प्रतिक्रिया आएको ढकाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिन्धुलीमा धेरै मात्रामा रगतको आवश्यकता हुदैँन । हप्तामा एकपटक रक्तदान कार्यक्रम गर्दा यहाँका नागरिकलाई पुग्छ ।”

त्यसैगरि, सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अभिषेक थपलियाले ब्लड बैंकमा रगत नहुँदा दाता खोज्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रगत अभावको दिर्घकालिन समस्या समाधान गर्न सरोकारवाला निकायबिच समन्वको आवश्यकता छ ।”

यता, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले रगतको अभाव नरहेको जवाफ दिनुभयो । उहाँले अस्पताललाई रगत आवश्यकता पर्दा ब्लड बैंकबाटै उपलब्ध गराउदैँ आएको बताउनुभयो । उहाँले भन्नुभयो, “ब्लड बैंकमा रगत नहुँदा दाता खोजेरै भएपनि अस्पताललाई उपलब्ध गराउदैँ आएका छौँ ।” नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन आग्रह गरेको सभापति श्रेष्ठले बताउनुभयो । रेडक्रसमा रगत मौज्दात नभएकोबेला बिरामीको उपचारमा रगतको कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयम्सेवीलाई तयारी अवस्थामा राखेको सभापति श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया