सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यामनचुलीमा प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले एउटा मोटरसाइकललाई रोक्यो । ना ४४ प ६०२९ नम्बरको पल्सर मोटरसाईकलमा सवार एकजनाले प्रतिबन्धित जडिबुटि गाँजा बोकेर आइरहेको सुराकि पाइसकेपछि उक्त मोटरसाइकललाई रोकेर प्रहरीले चेकजाँच गर्यो । नभन्दै उक्त मोटरसाइकलमा आएका व्यक्तिले २० किलो गाँजा बोकेको फेला पर्यो । क्यामनचुलीबाट सर्लाही तर्फ जादै गरेको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चामलको बोरामा गाँजा भेटिएपछि सवारीचालकलाई प्रहरीले हत्कडी लगायो । हत्कडी लगाएको केहि बेरमै प्रहरी र मोटरसाइकल चालकबिच घम्साघम्सिको स्थिति देखियो । प्रहरीलाई छल्दै हत्कडी लगाइएको व्यक्ति भिरमा हाम फालेँ र जंगल तर्फ भागे । ती व्यक्तिलाई प्रहरीले पछ्यायो । तर, भेटाउन सकेन । यो घट्ना शनिबार बिहान ४ बजे सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा घटेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २० के.जी. गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिन सकेपनि गाँजा बोक्ने भरियालाई नियन्त्रणमा लिन सकिएन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालले हत्कडी सहित गाँजा बोक्ने व्यक्ति फरार रहेको बताउनुभयो । फरार व्यक्तिलाई पछ्याउनेक्रममा तीन सय मिटर दक्षिणमा रहेको जंगलमा प्रहरीले हत्कडी तोडेर फालेको अवस्थामा फेला पारेको छ । फरार ब्यक्तीको खोजताला तथा थप अनुसन्धान भईरहेको डिएसपि दाहालले बताउनुभयो ।