सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवासँग नाम जोडिएको एक महिलाले चरित्र हत्या गरेको भन्दै सिन्धुली सौगात डट कमविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकि छिन् । उनले प्रेस काउन्सिलमा लेखेको निवेदनमा, ‘मिति २०८० माघ २६ गते सिन्धुली सौगातले मेरो नाम जोडेर ‘सिन्धुलीमा पालिका अध्यक्षको आतंकः कुटपिट देखी ज्यान मार्ने धम्की दिएको आरोप’ भन्ने शीर्षक राखी प्रकाशित भएको समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले आफ्नो श्रीमती भगाई दिएको भनि मेरो पूर्व पति भिम बहादुर मोक्तानले दिएको भनिएको उजुरीको विषयलाई लिएरसमाचार प्रकाशन गर्नु पुर्व सम्वन्धित पक्षको सो विषय वस्तु उपर आफ्नो भनाई राख पाउने नैसर्गिक अधिकारलाई समेत वेवास्ता गरि मेरो व्यक्तिगत चरित्र हत्या गर्ने किसिमले प्रकाशित समाचार प्रति घोर आपत्ति प्रकट गर्दछु । निज भिम वहादुर मोक्तानसँग मेरो विवाह भएको र हामीबाट एक छोरीको जन्म भएको व्यहोरा साँचो हो तर निजले सधै मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गालीगलौज, कुटपिट गर्ने, शारिरिक तथा मानसिक यातना दिने, परिवार वाल वच्चालाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप पटक पटक गरिरहेको कारणले आफ्नो जिउज्यानको असुरक्षा भएको महशुस भएपछि निजसँगको वैवाहिक जीवन अगाडी वढन नसक्ने देखि मिति २०७८ साल भाद्र १३ गते काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दायर गरि अदालतवाट मिति २०८० वैशाख ५ गते निजसँगको सम्बन्ध विच्छेदको फैसला भई छुट्टै वस्दै आईरहेको छु । मेरो व्यक्तिगत स्वतन्त्रताको हक उपभोग गरि जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गरि पालिका अध्यक्षसँग मेरो नाम जोडी बदनाम गर्ने तथा व्यक्तिगत चरित्र हत्या गर्न सम्बन्ध विच्छेद भैसकेको व्यक्तिको भनाईलाई आधारमानी प्रकाशित निराधार र भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दै आवस्यक कानुनी उपचारको प्रकृया अवलम्वन गर्ने जानकारी गराउदै भ्रामक समाचारको पछि नलाग्न र उक्त समाचारमा सत्यता नरहेको सम्पूर्णमा अनुरोध गर्दछु ।’
यता, सिन्धुली सौगात डट कमले भने उक्त समाचारमा कहिकतै महिलाको नाम उल्लेख नगरेकोले चरित्र हत्या नभएको स्पष्टिकरण दिएको छ ।