सिन्धुली– सिन्धुलीमा सशस्त्र प्रहरी बलको सहायक हवल्दार पक्राउ परेका छन् । पैदलयात्रीलाई ठक्कर दिएको आरोपमा दुधौली नगरपालिका १ का विष्णु लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शनिबार कमलामाई नगरपालिका ९ स्थित कोरुङमा लामिछानेले चलाएको मोटरसाइकले कमलामाई नगरपालिका ९, काउछेका ५ वर्षिय सक्षम न्यौपानेलाई ठक्कर दिएको थियो । जिल्लाको दुधौली नगरपालिकाबाट महोत्तरीको बर्दिबास नगरपालिकातर्फ जादैँ गरेको बा ७७ प २२८० नम्बरको मोटरसाइकलले गिता न्यौपानेको ५ वर्षिय छोरालाई ठक्कर दिएको सिन्धुली प्रहरीले जनाएको छ । अटोबाट झरेर बाटो काट्दै गरेका बालकलाई लामिछानेले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते बालकको टाउको, गाला र चिउडोमा चोट लागि अवस्था मध्यम रहेको सिन्धुली प्रहरीले बताएको छ । घाइते बालकको भिमानस्थित आर एण्ड के पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक महोत्तरीमा रहेको बोर्डर आउट पोष्ट (बिओपी) ईटरुवाकट्टीमा कार्यरत छन् । मोटरसाइकल र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।