सिन्धुली– सिन्धुलीमा दुधको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाईते भएका छन् । शुक्रबार जिल्लाको गोलन्जोर गाउँपालिका ५, छब्बिसस्थित बि.पि.राजमार्गमा दुधको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । खुर्कोटबाट सिन्धुलीतर्फ आउदैँ गरेको बा.७८ प ३१८८ नम्बरको मोटरसाइकलाई बागमती प्रदेश ०१–००४ क ०५८० नम्बरको दुधको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल सडकबाट अन्दाजि ३५ मिटर तल जंगलमा खसेको सिन्धुली प्रहरीले बताएको छ ।
दुर्घटनामा ९ वर्षिय बालकसहित तीनजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुलीको सुनकोशी गाउँपालिका ३ चपौली का ३७ वर्षिय श्यामकृष्ण चौलागाईको दाहिने खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको डिएसपि दाहालले बताउनुभयो । त्यस्तै, मोटरसाइकल पछाडी सवार चालकको बहिनी २६ वर्षिय अमृता फुंयालको टाउको र हातमा चोट लागि अवस्था सामान्य रहेको छ । त्यसैगरि, मोटरसाइकलमा पछाडी सवार अमृता फुंयालको छोरा ९ वर्षिय अंकित आचार्यको टाउकोमा चोट लागि अवस्था मध्यम रहेको डिएसपि दाहालले बताउनुभयो । घाइते तीनैजनालाई थप उपचारकोलागि टिचिङ अस्पताल काठमाडौँ रिफर गरिएको छ । ट्यांकर र ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।