सिन्धुली – पहिरोमा टनेल बोरिङ मेसिन (टीबीएम) फसेर दुई महिना अघिदेखि अवरुद्ध सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । आयोजनाका सरकारी अधिकारीहरु, चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) का प्रतिनिधि लगायत स्थानीयले क्षमापूजा गरेको १७ दिनपछि सुरुङ खन्ने काम पुनः शुरु भएको हो । सुरुङभित्र सुख्खा पहिरो खसेर मेसिन पुरेको ४३ औँ दिनमा क्षमा पुजा गरिएको थियो ।
सुरुङभित्र पुरिएको टीबीएम मेसिनलाई वाइपास बनाएर सुरक्षित निकालेपछि काम सुरु भएको सुनकोशी–मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । महाभारत क्षेत्रका जटिल भौगोलिक अवस्था र भूमिगत पानीको संयोजनका कारण ६० दिनअघिबाट सुरुङभित्रै खसेको पहिरोले अवरुद्ध भएको काम सामान्य रुपमा सुरु भएको बरालले बताउनुभयो । सुरुङभित्र दायाँबायाँ र माथिबाट पाउडर जस्तो माटो झरेर टीबीएमलाई थिचेपछि १०.५४४ किलोमिटरमा पुगेर काम रोकिएको थियो ।
सुरुङ खन्ने टीबीएम मेसिन उत्पादक कम्पनी रोविन्स अमेरिका, परामर्शदाता स्मेक अस्ट्रेलिया, ठेकेदार कम्पनी कोभेक चाइना, विज्ञ टोली, आयोजनाका प्राविधिकहरुको संयुक्त प्रयासमा रोकिएको काम सञ्चालन भएपश्चात शुक्रबार थप १ सय १९ मिटर खनिएको आयोजनाले जनाएको छ । यसअघि तीनपटक सुरुङ भित्रै पहिरो खसेर काम रोकिएको थियो । पहिलो पटक सात दिन, दोश्रो पटक नौँ दिन, तेश्रो पटक २९ दिन र चौथो पटक ६० दिन गरि एक सय पाँच दिन टिबिएम मेसिन पहिरो, हिलो लेदो तथा धुलो पाउडर जस्तो माटो खसेर टनेल निर्माणको काम रोकिएको थियो । लगातार टिविएम जाममा पर्दा आयोजना र सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ ठकेदार कम्पनी कोवेकलाई करोडौँको नोक्सानी भइरहेको छ ।
१३.३ किलोमिटर लम्बाइ रहेकोमा अब २६ सय ३७ मिटर सुरुङ खन्न बाँकी छ । सुनकोशी गाउँपालिका–७ ट्याङ, ट्याङ खोला मुनीबाट काम अगाडि बढेकाले सुरुङ खन्ने मेसिन टीबीएम अब रोकिने संभावना कम रहेको आयोजनाले जनाएको छ । सुरुङ खन्ने काम २०७९ असोज २८ गतेबाट सुरु भएको थियो । तोकिएको २२ महिनाको अवधि ०८१ साउन २८ गतेभित्रै सुरुङको काम सक्ने गरी आयोजना लागिरहेको छ । अवरोध नआई काम लगातार भएमा तोकिएको मितिमै सम्पन्न हुने आयोजना प्रमुख बरालले बताउनुभयो ।
यो परियोजनाको मुख्य उद्देश्य प्रदेश–२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पु¥याउनु हो । तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाई सुविधा पु¥याउने उल्लेख छ । जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ । यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पु¥याइने छ ।
खुर्कोटबाट पानीलाई सुरुङमार्फत सिन्धुली कुसुमटारमा रहेको मरिण नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ । जसबाटै ३१.७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यहाँबाट निश्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ । जसबाट बागमती सिँचाइ आयोजनामा करीब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ। बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पानी पु¥याउने उल्लेख छ ।
सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज निर्माणको काम भइरहेको छ । त्यस्तै, सुनकोशी नदीबाट आएको पानी छान्न १५० मिटर लामो डिसेन्डिङ बेसिन निर्माण गरिने आयोजनाले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ । यो परियोजनाबाट उत्पादन हुने विद्युत् वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ ।
उत्पादित बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोड्ने योजना छ । यो आयोजना आर्थिक वर्ष २०८२÷८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गर्नुभएको थियो