बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीलाई जापान सरकारको ९७ लाख रुपैँया अनुदान

बुधवार , फाल्गुण ९, २०८०

सिन्धुली– सिन्धुलीमा स्वास्थ्य चौकी निर्माणकालागि जापान सरकारले ९७ लाख रुपैँया अनुदान सहयोग गर्ने भएको छ । स्वास्थ्य चौकी निर्माणका लागि नेपालका लागि जापानका राजदूत किकुता युताकाले सहकारी नेपाल सिन्धुलीकी अध्यक्ष सिरमला तामाङसँग अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । बुधबार काठमाडौँस्थित जापानी राजदूतावासमा भएको हस्ताक्षर समारोहमा गाउँपालिका अध्यक्ष शंकरराज बरालको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार जापानले ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गतबाट करिब ९७ लाख नेपाली रुपैयाँ (७३ हजार ७४७ अमेरिकी डलर) अनुदान उपलब्ध गराउने भएको हो । उक्त रकमले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकीको पुनः निर्माण गरिनेछ । करिब ४० वर्षअघि निर्माण भएको स्वास्थ्य चौकीको पुनर्निर्माणको व्यवस्थापन गोलन्जोर गाउँपालिका र सहकारी नेपाल, सिन्धुलीले गर्ने जापानी दूतावासले जनाएको छ ।

तल्लो तहका समुदायको सामाजिक एवं आर्थिक विकासमा सहायता गर्न स्थापित जीजीपी अन्तर्गत सन् १९९१ यता नेपालमा दुई सयभन्दा बढी परियोजनाहरू सम्पन्न भएको दूतावासले बताएको छ । यस परियोजनाले ग्रामीण क्षेत्रमा स्वास्थ्य परिवेशमा सुधार र समुदायको स्वास्थ्य प्रवद्र्धन गर्ने जापानी दूतावासको विश्वास छ । हस्ताक्षर समारोहमा राजदुत युताकाले स्वास्थ्य चौकीको पुनःनिर्माणमा जापान सरकारले गर्ने सहयोगले भावी पुस्ताका लागि जापान र नेपालका जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास लिएको बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया