बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा नागरिकता हराउने बढेसँगै प्रतिलिपि लिने बढे

शनिवार , फाल्गुण ५, २०८०

सिन्धुली– नेपालमा नागिरकता प्रमाण पत्रलाई सबैभन्दा वैधानिक कानुनी पहिचानको दस्तावेज मानिन्छ । सरकारी तथा निजी क्षेत्रमा रोजगार प्राप्त गर्न, राज्यले दिने सामाजिक तथा सुरक्षा प्राप्त गर्न, ऋण तथा बैंकसँग कारोबार गर्न, राहदानी बाउन, शिक्षा आर्जन गर्न लगायत अधिकांश सरकारी तथा निजी कामकाजकालागि नागरिकता अत्यावश्यक कागजात हो । राज्य र व्यक्तिबिच सम्बन्ध स्थापित गर्ने महत्वपुर्ण प्रमाणपत्रनै सुरक्षित नराख्दा नागरिकले दुख पाउने गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८०÷०८१ को सात महिनासम्मको प्रतिवदेन सार्वजनिक गर्दै सिन्धुलीमा राहदानीको प्रतिलिपि लिनेको संख्या बढेको जानकारी दिएको छ ।

नागरिकता हराउँदा, बसाई सराई गरेपछि, पतिको नाम, थर र ठेगाना राख्न, सम्बन्ध बिच्छेद भई पतिको नाम थर ठेगाना हटाउन, थर संशोधन गर्न लगायत विविध कारणले नागरिकताको प्रतिलिपि बनाइन्छ । तर, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रतिलिपि लिन आउनेहरूमा सबैभन्दा नागरिकता हराएर आउनेहरूको संख्या बढी छ । श्रावणदेखि माघ महिनासम्मको प्रतिवेदन अनुसार सिन्धुलीमा हरेक दिन २२ जनाले नागरिकताको प्रतिलिपि बनाउने गरेका छन् । सात महिनाको अवधिमा नयाँ नागरिकता बनाउने पाच हजार ५६९ जना छन् भने चार हजार ७१३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । नागरिकता हराउनेमा सबैभन्दा धेरै महिला छन् । अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष नागरिकताको प्रतिलिपि लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकिय अधिकृत राजिव कुमार सिंहले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा झण्डै सात हजारले नागरिकताको प्रतिलिपि लिएका थिए । उहाँले भन्नुभयो, ‘विविध कारण भएपनि नागरिकको लापर्वाहीकै कारण नागरिकताको प्रतिलिपि लिने बढेका छन् । कोहिकोहिले त पाचौँ पटकसम्म नागरिकता निकालेका छन् ।’ प्रतिलिपि लिनुपर्ने कारण परि लिन आएमा जति पटक पनि प्रतिलिपि बनाउन सकिने तर, सामान्यतया ३ पटक भन्दा वढी प्रतिलिपि माग्न आएमा भने आवश्यकता अनुसार स्थलगत वा प्रहरी सर्जमिन बुझेरमात्र नागरिकताको प्रतिलिपि दिने गरेको अधिकृत सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिलिपि लिइसकेपछि पहिलाको नागरिकता भेटिएमा पहिलाको नागरिकता प्रयोग गर्नु हुँदैन । त्यस्तो नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाइदिनु पर्दछ ।’ तर, प्रतिलिपि लिइसकेकाले पुरानो नागरिकता भेटेपनि अधिकांशले जिल्ला प्रशासनमा नबुझाउने गरेको सिंहले बताउनुभयो ।

१३ जनाले लिए गैरआवासीय नेपली नागरिकताः सिन्धुलीबाट २२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रतिवेदन अनुसार हालसम्म १३ वटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् । सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता–नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था छ । गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकतासम्बन्धी संशोधन ऐन प्रमाणीकरण तथा भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको थियो । गैर आवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उनिहरुका आफन्त दिनहुँ कार्यालयमा आउने गरेको प्रशासकिय अधिकृत सिंहले बताउनुभयो ।

राहदानी दस्तुरबाट तीन करोड बढि राजश्व संकलन: जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात महिनामा छ हजार एक सय ९० जनाले राहदानी प्राप्त गरेका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म ६६५ जनालाई राहदानि वितरण गर्न बाँकी रहेको प्रशासकिय अधिकृत सिंहले बताउनुभयो । सात महिनाको अवधिमा राहदानी दस्तुरबाट तीन करोड ३ लाख १० हजार आठ सय रुपैँया राजश्व संकलन भएको सिंहले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया