बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

तीनपाटनका सबै वडामा जोडियो बिजुली

शुक्रवार , फाल्गुण ४, २०८०

सिन्धुली — तीनपाटन गाउँपालिकाको सबै वडा विद्युतको राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै तीनपाटन बिजुली बत्तीले झलमल्ल भएको छ । वडा नम्बर ७ तोस्रामखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पालिकाका ११ वटै वडा बिजुलीले झलमल्ल भएको गाउँपालिकाले जनाएको छ ।

गााउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार आठ हजार घरधुरी मध्ये ९० प्रतिशतमा बत्ति पुगेको छ । १० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पुर्‍याउने लक्ष्यसहित धमाधम काम भइरहेको छ ।“विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ”, अध्यक्ष थापामगरले भन्नुभयो ।

टुकी बत्ती, सोलार, लालटिनको सहाराले दैनिक जीवन बिताउँदै आएका तीनपाटनवासी गाउँमा बिजुलीले उज्यालो हुँदा खुसी भएका छन् । तोस्रामखोलाका सविन मगरले घरमा राष्ट्रिय विद्युत प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको बताउनुभयो । राष्ट्रिय प्रसारण लाइनको बत्ती बाल्न स्थानीयले पोल बोक्ने, गाड्ने र तारको काममा श्रमदान गरेका थिए ।

सिन्धुलीको ५७ हजार ५८१ घर धुरीमध्ये हालसम्म करिब ५५ हजार घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत बिस्तार गर्न बाँकी गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिकाको केही वडामा केन्द्रीय योजना अन्तर्गत ६५ करोड रुपैयाँको लागतमा विस्तारको काम भइरहेको छ ।

 

प्रतिक्रिया