सिन्धुली– व्यापारीको भेषमा विभिन्न बहाना बनाएर करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ स्थित खनियाखर्कका रबिन कुमार थापासहित चार जनालाई पक्राउ गरेको हो । ४३ वर्षिय थापा काठमाडौँको सिनामंगलबाट पक्राउ परेका हुन् । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्ने अन्यमा काभ्रेको कुमार थापा, स्याङ्जाकी मीना दमै, र सप्तरीका दिलिप कुमार लाभ छन् ।
ठगिको घट्ना कसरी सार्वजनिक भयो ?: आफू सुनका गरगहना विदेशमा निर्यात गर्ने व्यापारी भएको भन्दै काभ्रेका कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गर्ने नाममा ठगी गरेको पाइएको एसपी रेग्मीले बताउनुभयो । आफू ठगिएको थाहा पाएपछि विरेन्द्र सुनारले जिल्ला प्रशासन कार्यालय कास्कीमा दुई करोड बिगोको मुद्दा दर्ता गर्नुभएको थियो । त्यसलगत्तै यसबारे सम्बन्धित निकायबाट पत्राचार भएपछि कार्यालयको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले जानकारी दिनुभयो ।
थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा सिन्धुलीका रविन कुमार थापा, मिना दमै र दिलीप कुमार लाभको समेत संलग्नता खुलेको रेग्मीको भनाइ छ । सिन्धुलीका रविन कुमार थापाले चितवन जिल्लामा ४ वटा बैङ्किङ कसुर तथा ठगी मुद्दामा २ करोड ४५ लाख ठगी गरेको देखिएको तथा काठमाडौँमा समेत ३ वटा मुद्धामा फरार रहेको देखिएको छ । त्यस्तै, भक्तपुरको सल्लाघारीबाट पक्राउ परेकी मीना दमैविरुद्ध कास्कीमा १ करोड ७० लाख ५९ हजार बिगो मागदावी भएको मुद्दा देखिएको छ । यस्तै, उनले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको रेग्मीले बताउनुभयो ।
दिलीप कुमार लाभसमेत २ वटा मुद्दामा फरार देखिएको प्रहरीको भनाइ छ । उनलाई जिल्ला अदालत काठमाडौँ पठाइएकोमा सर्वोच्च अदालतबाट वन्दी प्रत्यक्षीकरणको रिटबाट जरिवाना दाखिला गरेको देखिँदा छाडिएको रेग्मीको भनाइ छ । अन्य दुई जनालाई भने कारबाही प्रक्रियाका लागि सम्बन्धित अदालतमा पठाइएको छ ।
अनुसन्धानका क्रममा खुले यी तथ्य: काभ्रेका थापाले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोश्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरीद गरेका थिए भने पछि विश्वास जितेर १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनी लिई चेकमार्फत भुक्तानी गरेर योजनाबद्ध रुपमा ठगी गरेको खुलेको छ । यसैगरी लाभले भक्तपुर सुडालमा अरु व्यक्तिको नाममा रहेको जग्गा भए पनि आफ्नो भनेर परिवार अटो मोबाइलबाट २६ लाख रकम ठगेको खुलेको छ । यस्तै, तीन गाडी समेत लगेको खुलेको छ । पछि कम्पनीको उजुरीको आधारमा गाडी फिर्ता गराइएको छ । यसैगरी चितवनमा जग्गा दिन्छु भनी अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको समेत खुलेको छ । प्रहरीका अनुसार ठगीमा मीना दमैलाई प्रयोग गरेको पाइएको छ । रेग्मीका अनुसार मिना दमै उपर कास्कीमा ७ वटा ठगीका मुद्दा दर्ता भएको देखिएको छ भने चितवनमा पनि २ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, कुमार थापा विरुद्ध पनि कास्कीमै २ करोड ठगीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको पाइएको छ । यस्तै रविन कुमार थापाविरुद्ध चितवनमा ४ वटा मुद्दा र काठमाडौँमा ३ वटा मुद्दा दर्ता भई फरार रहेको पाइएको छ ।
कुमार थापाले मिना दमैलाई देखाई निजको नामको चेक दिने र निज बाटै कारोबार गर्ने गरेको पाइएको छ । कारोबार गर्दा विश्वास पार्न महिला प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ४ जनाले समूह बनाई विभिन्न बहानामा ठगी गर्ने र ठगी गर्ने क्रममा आफूहरू सुनका गहना, गाडी र जग्गाको कारोबारी रहेको बताउने गरेका थिए । उनीहरूले ठगीबारे थापा नपाउन् भनेर ठुलो व्यापारी देखाउन ठुलो कारोबार भएको देखाउने गरेको अनुसन्धानबाट खुलेको छ । ४ जनाबाट ठगी भएको रकम बिगो ७ करोड ७७ लाख ५९ हजार रहेको बताइएको छ ।