बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा कोरियन गाउँ !

बुधवार , फाल्गुण २, २०८०

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–५ मा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’ को उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा कोरिया–नेपाल भिलेजको मंगलवार उदघाटन गर्नुभएको हो ।

भिलेज उदघाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘गाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेललगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो । सो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम छ । किसान सुवेदीले उपहारमा पाएको बाच्छी भने माउबाट छुटाएर लैजान पा“च महिना कुर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा ५१ जना किसानले गाई पाएकोमा ती बाट जन्मिने बाच्छीहरु क्रमश किसानलाइ हस्तान्तरण गर्दै जानुपर्ने नियम छ । दक्षिण कोरिया सरकारले मिल्कवे परियोजना अन्र्तगत कमलामाई नगरपालिकालाई उन्नत जातका ८० वटा होलस्टिन गाई उपहार स्वरुप हेफर मार्फत प्रदान गरेकोमा मालीगाइ सुत्केरी भएर पहिलो भएकी छिन् । लम्पी स्किनको प्रकोपसँगै ८० वटा कोरलीमध्ये ६ वटा गाई मरेका थिए । कोरिया सरकारले हेफर मार्फत प्रदान गरेको कोरली मध्ये ५९ वटा गर्भवती छन् । बा“की गाईहरु पनि गर्भवती हुनसक्ने तर यकिन भने भइ नसकेको पशु चिकित्सकले बताएका छन् ।

कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उदघाटनका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै सफलताको कामना गर्नुभयो । ‘नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवका अवसरमा बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेजको शुभारम्भ ऐतिहासिक र दुई देशबीचको सुमधुर सम्बन्धको संकेत हो’, उहाँले भन्नुभयो, ‘मोडेल डेरी भिलेजले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास छ ।’

होलस्टिन गाईबाट दुधमा कमलामाइ नगरपालिका आत्मनिर्भर मात्र नभएर निर्यात गर्न सक्ने हुने आफुले विश्वास लिएको राजदुत योङले बताउनुभयो । दुध विक्री भएर हुने आम्दानीबाट किसान मुहारमा खुसियाली छाउनेमा आफु ढुक्क रहेको उहाँको भनाइ थियो । जन्मिएको बाच्छीलाइ खाम्सा नाम दिइएको छ । कोरियन भाषामा दिइएको यो नाम नेपालीमा भने धन्यवाद हुन्छ । नेपाल अहिले भएका गाई ब्याएपछि थारो नहुन्जेल दुइहजार ८ सय लिटर दुध दिने तर होलस्टिनले १० हजार लिटर दिने भएका नश्ल सुधारमा जोड दिनुपर्ने खा“चो औंल्याइयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा पौडेलले मोडेल डेरी भिलेज एक वर्षको मेहनतको फल भएको उल्लेख गर्दै आगामी दिनमा सामूहिक सहकार्यमा जोड दिएर अघि बढ्न सुझाव दिनुभयो । होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरण लगायतका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । “कमलामाई नगरपालिकाका–४ र ५ मा जस्तै होलिस्टाइन जातका गाई अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ । यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ”, सचिव डा पौडेलले भन्नुभयो, “दूधको बिक्री र दुग्घजन्य वस्तुको उत्पादन गर्नेगरी आवश्यक तयारी सुरु गर्नुपर्छ ।”

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइन जातको गाईपालन विस्तार गर्दै लैजाने र उत्पादित दूधलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । “कोरिया सरकार, हेफर इन्टरनेशनललगायत सङ्घसंस्था र स्थानीय किसानको प्रयासबाट मोडेल डेरी भिलेजको अवधारणाले मूर्तरुप लिएको हो”, उहाँले भन्नुभयो, “होलिस्टाइनजस्ता उन्नत जातका गाईपालनबाट यहाँका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।”

कमलामाई–४ र ५ मा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको हो । नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९÷८० देखि सुरु भएको हो । दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र आठ उच्च प्रजननमान भएका होलिस्टिन बहर उपलब्ध गराएको थियो ।

कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो । कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।

 

प्रतिक्रिया