बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

कमलामाईको ५ नम्बर वडा कार्यालय आफ्नै भवनमा

बुधवार , फाल्गुण २, २०८०

सिन्धुली – भाडाको घरबाट सेवा दिदै आएको कमलामाई नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय आफ्नै भवनमा सरेको छ । मंगलबार वडा कार्यालयको नवनिर्मित भवनबाट सेवा प्रवाह गरेको वडाध्यक्ष पूर्ण खड्काले बताउनुभएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापको एक करोड ३० लाख लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि स्लेट–सिर्जना–रामबोले जेभीले २०७९ चैत ११ गते २ बर्षमा निर्माण सम्पन्न गरिने गरी वडा कार्यालयसँग निर्माणको लागि सम्झौता भएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार ग्राउण्ड सहितको सात कोठे पक्की भवन निर्माण भएको छ ।

भवनको पहिलो कोठामा वडाध्यक्षको कार्यकक्ष, दोश्रो कोठामा वडा सचिव, तेश्रो कोठामा प्राविधिक, चौथो कोठामा राजश्व र ग्राउण्ड फ्लोरमा पाँचौ, छैठौँ र सातौँ कोठासहित कार्यालय संचालन गरिएको छ । यसअघि मासिक २० हजारको दरले भाडा बुझाउने गरेको वडा अध्यक्ष खड्काले बताउनुभयो । “हामिले भाडाको घरबाट सेवा प्रवाह गरिरहेका थियौँ । अब मासिक २० हजार खर्च नहुने भयो”, उहाँले भन्नुभयो । व्यक्तिगत घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको वडाले नयाँ भवन पाएपछि सेवा प्रवाह गर्न सहज भएको उहाँले बताउनुभयो ।

स्थानीय तह पुनर्संरचनापछि ०७४ को चुनावबाट निर्वाचित जनप्रतिनिधिले व्यक्तिगत घर भाडामा लिएर कार्यालय चलाउँदै आएका थिए । वडा भवन भएपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैलाई काम गर्न र सेवा लिन सहज भएको अध्यक्ष खड्काले बताउनुभयो । वडाध्यक्ष कार्यकक्ष, प्रशासन लगायतका शाखाहरु सञ्चालनका लागि आवश्यक कोठा रहेको संरचना अर्थात् कार्यालय भवनबाट सेवा प्रवाह गर्नलाई धेरै सहज हुने भएको उहाँको भनाइ छ । उहाँले निर्माण कम्पनीका लगायत भवन निर्माणमा सहयोग गर्ने सबै निकाय र प्रतिनिधिहरूलाई धन्यवाद दिनुभयो ।

मंगलबार मात्रै नवनिर्मित भवनबाट २० जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन् । वडा कार्यालयको नयाँ भवनबाट पहिलो सेवा लिने सुदिप राना रहेको अध्यक्ष खड्काले बताउनुभयो । कार्यालयबाट रानाको नागरिकता सिफारिसको काम भएको थियो ।

प्रतिक्रिया