सिन्धुली– परस्त्रीसँग लागेको आरोप लागेका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षलाई पदबाट वर्खास्त गर्न नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले माग गरेको छ । आईतबार एक विज्ञप्ति निकाल्दै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका कमिटीले घट्नाको छानविन गर्दै कानुनवमोजि पदबाट वर्खास्त गर्न माग गरेको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले वैदेशिक रोजगारीमा रहेका सर्लाही जिल्ला वागमति नगरपालिकाका भीमबहादुर मोक्तानको श्रीमतीलाई आफ्नो प्रभावमा पारी उनको नावालिका छोरीको विचल्ली बनाउनुका साथै भीमबहादुरमाथी धम्की सहित पटक पटक कुटपीट लगायत अभद्र व्यवहार गरेको भनी विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका कमिटीले ध्यानकर्षण गराएको छ ।
मिडियामा प्रकाशित भएका समाचारहरुको सत्यतथ्य छानवीन गर्न, पीडितलाई न्याय दिन र नावालिका छोरीको शिक्षा दीक्षा तथा पालनपोषणको पूर्ण ग्यारेन्टी गर्न गाउँपालिका अध्यक्ष वाईवासँग माग गरिएको गाउँकमिटिका अध्यक्ष मानवहादुर वाईवाले बताउनुभयो । गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार पद धारण गरेको व्यक्ति यस्ता घटनामा संलग्न हुनु गम्भीर विषय भएको वाईवाले बताउनुभयो । साथै, यो घटनाले सम्पूर्ण पालिकावासी लज्जित हुनुपरेको हुँदा पालिका अध्यक्षबाट भएको यस्तो अक्षम्य अपराधको सत्यतथ्य छानवीन गर्न माग गर्दै पालिका अध्यक्ष वाईवा दोषी देखिएमा उनलाई कानुनबमोजिम पदवाट वर्खास्त गर्नेसम्मको कारवाही गर्न सम्बन्धित निकायसमक्ष पार्टीले जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वाईबाले दिएको यातनाका बारेमा पिडितले नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा दिएको उजुरीको निवेदन सार्वजनिक भएपछि उक्त घट्ना सतहमा आएको हो । पिडितले आफ्नो श्रीमति हराएपछि प्रहरी प्रशासन र नगरपालिकामा उजुरी दिँदा गाउँपालिका अध्यक्ष वाईबाले ‘मेरो श्रीमती बज्रध्वजले लगेको भनेको होइनस, घरमा नै रहेछ त’ भनेर बेस्सरी कुटेको पीडितले लेखेको निवेदनमा उल्लेख छ । साथै, पीडितको आफन्तमार्फत बेलाबेलामा अहिलेपनि धम्की दिइरहेको पिडितले बताएका छन् ।
