सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका घर भएका कृष्ण बरालले जुनार दाना छोडाएर, जुस बनाएर वा साँधेर मात्र खानेगर्दथे । जुनारको हबनै भनेर चिनिएको गोलन्जोरमै जन्मेका बराल जस्तै धेरैलाई जुनारबाट केक, टार्ट, जेली लगायत परिकार बन्छ भन्दा अनौठो लाग्थ्यो । ललितपुरको कुपण्डोलमा रहेको रैथाने क्याफेले जुनारको १० परिकार ग्राहकलाई पस्किन लागेपछि भने ‘फुडि’ र जुनार रुचाउनेकालागि जुनारको विभिन्न परिकारले आकर्षित गरिरहेको छ । शुक्रबार र शनिबार रैथाने क्याफे र ग्रिन ग्रोथको सहकार्यमा आयोजना गरिएको दोश्रो जुनार मेलामापनि जुस र साँधेको जुनारभन्दा अन्य परिकार बढि विक्रि भएको क्याफेका संचालकले बताए । ग्रिथ ग्रोथका संचालक सौरभ ढकालले भन्नुभयो, ‘झण्डै छ सय बढिले मेला भ्रमण गरे । २ दिने मेलामा जुनार टार्ट सर्वाधिक विक्रि भएको छ ।’ टार्ट एक पकाएको परिकार हो जसमा पेस्ट्री बेसमा भरिएको हुन्छ ।
नेपालमा जुनार भन्ने बित्तिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ । जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ । यही सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरूमा ल्याउनका लागि ललितपुरको कुपण्डोलस्थित रैथानेमा जुनार मेला एक वर्षअघिदेखि आयोजना गरिदैँ आएको छ । मेलामा सिन्धुलीमा उत्पादित जुनार र सो जुनारबाट तयार पारिएका विभिन्न परिकारहरू खान पाउँदा जिब्रोले जुनारको नयाँ स्वादको अनुभुति गरेको काठमाडौँका संकल्प थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुनार भनेपछि सिन्धुलीको सदरमुकामस्थित कमलामाई नगरपालिकामा रहेको स्तम्भको तीन गेडे जुनारको याद आउँथ्यो । रैथानेको जुनारका परिकारले कुरुप तीन गेडे जुनारको छापलाई मेटाएको छ ।’
दुई दिने दोश्रो जुनार मेलामा जुनारबाट बनेका विभिन्न दश परिकारहरू ग्राहकलाई पस्किएको थियो । जसमा जुनार साधेको, जुनार केक, जुनार जेली, जुनारको जुस, स्पाइस्ड हट्, जुनारको रक्सि, जुनार टार्ट रहेको थियो । मेला सकिएपनि रैथानेमा अब माथि उल्लेखित सम्पूर्ण परिकारहरू दैनिक मेनुमा नै रहने कुरा समेत रैथानेका संचालकले बताए ।
जुनारलाई बजारीकरण गर्न युवाहरुको सक्रियता: ग्रिन ग्रोथ र रैथानेले सिन्धुलीको जुनारलाई बजारीकरण गर्न जुनारले बनेका नयाँ ‘आईटम’ हरु बजारमा ल्याएको छ । मेला आयोजना भएसँगै जुनारको नौलो र फराकिलो दायराबारे ग्राहकले थाहा पाएका छन् भने किसानकालागि पनि बजार विस्तार भएको छ । ग्रिन ग्रोथले सिन्धुलीमा उत्पादित
क्युआर मार्फत ट्रयाकिङ गर्ने र उपभोक्तामाझ सक्कली उत्पादन पु¥याउने काममा प्रविधिको प्रयोग गरेको छ । जसका कारण उपभोक्ता नठगिने गिन ग्रोथका सौरभ ढकालले बताउनुभयो । ग्रिनग्रोथका सञ्चालक ढकालका अनुसार उपभोक्ताले जुनारको उत्पादनदेखि बजारसम्मको यात्रा विवरण क्यूआर कोडबाट ट्रयाक गरेर हेर्न सक्छ । यो क्यूआर कोड स्क्यान गरेपछि उपभोक्ताले किन्दै गरेको जुनार कहाँको हो भन्ने जानकारी पाउँनेछन् । खरिद गरेको जुनारमा कहिले मल हालेको, कहिले टिपेको, कति दूरी पार गरेर ल्याइएको हो ? जस्ता विवरण उपभोक्ताले पाउन सक्छ । यसमा जुनार उत्पादक कृषकको बारेमा जानकारी समेत राखिएको हुन्छ ।
सिन्धुलीका ९ स्थानीय तहका अधिकांश क्षेत्रमा जुनार खेती गरिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुलीका अनुसार जुनार सुपर जोनअन्र्तगत सूचीकृत भएका लाभग्राही २९८ कृषकले १ हजार ४५ हेक्टरमा जुनार खेती गरिरहेका छन् । सिन्धुलीका ४ स्थानीय तह सुनकोसी–७ मझुवा, कमलामाई–३ जलकन्या, गोलञ्जोर–१ देखि ६ सम्म र तीनपाटन–७ तोश्रामखोलामा जुनार सुपर जोन परियोजना सञ्चालनमा छ ।
अमिलो जातको फलफूल सिट्रस वर्गमा पर्ने जुनार नेपालको एक मात्र मौलिक फल हो । रामेछाप र सिन्धुलीमा अत्यधिक फल्ने जुनार अहिले देशका विभिन्न भागमा फैलिएको छ । धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुंगा, लमजुङ, पाल्पा र रुकुममा मुख्यगरी जुनार खेती हुने गरेको छ ।