सिन्धुली– राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन अन्तर्गत सुरुङ खन्ने काम एक महिनादेखि रोकिएपछि क्षमा पूजा गरिएको छ । आयोजनाका सरकारी अधिकारीहरु, चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) का प्रतिनिधि लगायत स्थानीयले कमलामाई नगरपालिकाको कुसुमटारमा क्षमापूजा गरेका हुन् । क्षमा पुजाका क्रममा जिल्लाका प्रसिद्ध मठमन्दिर कमलामाई, कालीमाई, भद्रकालि, शिद्धबाबा, गणेशस्थान, विश्वकर्मा लगायतका देवदेविहरुलाई भाकेर टिबिएम पुनः संचालकालागि भाकल गरिरएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो । सुरुङ निर्माणमा खटिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले क्षमापुजा गर्न आग्रह गरेपछि पुजा गरिएको बरालले बताउनुभयो । त्यस्तै, क्षमापुजामा सहभागि चिनियाँ ठेकेदार कम्पनि कोबेकका प्रतिनिधि लिन फिङ फ्यााङले चिनमा पनि पुजा गर्ने परम्परा रहेको बताउनुभयो ।

सुख्खा पहिरो खसेपछि सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम एक महिनादेखि रोकिएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फबाट पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि एक महिनादेखि काम रोकिएको हो । दाँयाबायाँ र माथिबाट जमिन बग्नाले मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाले जनाएको छ । १० हजार पाँचसय ४४ मिटर सुरुङ खनिएको छ । क्षमापुजा सँगै प्राविधिक प्रयास भइरहेको आयोजना प्रमुख बरालले बताउनुभयो । आगामी १०÷१५ दिनमा पुरिएको टिबिएम मेसिन निकालेर सुरुङ खन्ने कामले तिव्रता पाउनेमा बरालको भनाई छ ।
सुनकोसी गाउँपालिकाको ट्याङट्याङ खोलामुनि सुरुङ खन्ने मेसिन टिबीएम फसेपछि निकाल्नका लागि विज्ञहरुबाट काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमका अनुसार टिबीएम निर्माण अमेरिकी कम्पनी रोविन्सका प्राविधिक,परामर्श दाताका विज्ञहरु, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक), कन्सल्टेन्सीका प्राविधिक लगाएतले स्ट्रोक भएको मेसिनलाइ निकालेर काम सुचारु गर्न लागि परेका छन् । ९० देखि १०० मिटर अगाडिसम्म बग्ने जमिन रहेको अनुमान आयोजनाको छ । यसो हुँदा लामो रेञ्जमा वाइपास खोल्नुपर्ने भएकाले एलाइमेन्ट परिवर्तन हुन पनि सक्ने आयोजनाको भनाइ छ ।
१३ दशमलव तीन किलोमिटर लम्वाइ रहेको सुरुङ खन्ने काम अव दुइहजार पाँचसय ४१ मिटर मात्र बाँकी छ । सुरुङ खन्ने काम २०७९ असोज २८ गतेबाट शुरु भएको थियो । चुरे रेन्ज कटेर महाभारत क्षेत्रमा प्रवेश गरेपछि समस्या नआउने आंकलन भएपनि ठुलो समस्या आइलागेको आयोजनाले जनाएको छ । यस अघि पटक–पटक गरी डेढ महिना सुरुङ खन्ने काम रोकिएको थियो । ‘पहिला हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाई निकास खोजेका थियौं,’ सिनियर डिभिजनल इन्जिनियर गौतमले भन्नुभयो, ‘अहिले पुरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि टनेल बोरिङ मेसिन(टीबीएम) अगाडि बढ्न सकेन । कन्सल्ट्यान्ट, भुगर्भविद, निर्मांण व्यवसायीका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेर वाइपासको तयार गरि काम भइरहेको छ ।’
मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः कटर जडान गरी वाइपासबाट सुरुङ खन्नुपर्ने हुन्छ । लामो क्षेत्रफलमा जमिन बग्ने समस्या भएपछि भने अन्तर्राष्ट्रिय विज्ञ समेत झिकाउनु परेको हो । १३ दशमलब तीन किलोमिटर लामो सुरुङ कमलामाई नगरपालिका–२ कुसुमटारबाट खन्न सुरु गरिएको हो । ‘जमिनमुनिको कुरा यसै भन्न त सकिदैन, तर हामीले महाभारत क्षेत्र प्रवेश भएपछि ठुलो समस्या नआउने आंकलन गरेका थियौं,’ सिनियर डिभिजनल इन्जिनियर गौतमले भन्नुभयो । अहिलेको रोकिएको काम पुनः सुचारु भएमा तोकिएको २२ महिनाको अवधि भित्रैमा सुरुङ निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो । सुनकोसीमा हेडवर्क्स निर्माणको ठेक्का संझौता भई निर्माण व्यवसायीले क्याम्प निर्माण गरी काम सुरु गरिसकेका छन् । उच्च प्रविधिबाट ५ दशमलब ५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भइरहेको जनाइएको छ ।
सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले काम सुचारु हुँदा दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको थियो । गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङले सुनकोसी नदी भेटाउनेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणी भन्दा सातसय मिटर तलपर्छ । आयोजनाको कुल लागत ४६ अर्व १९ करोड रहेको छ । आयोजनाका अनुसार कानढुंग्रीमा सुनकोसी नदीमा १६ मिटर उचाईको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ घनमिटर पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ ।
आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पुर्योउने रहेको छ । १५औं योजनामा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना २०८०÷८१ सम्म सक्ने लक्ष्य थियो । अर्थ मन्त्रालयका अनुसार तोकिएको समयसम्म आयोजनाको काम सम्पन्न नभएपछि यो आयोजना २०८४÷८५ सम्म लम्ब्याइएको छ । ४६ अर्ब १९ करोड संशोधित अनुमान छ । पछिल्लो समय भने आयोजनाको सुरुङ निर्माणले गति लिएपनि आयोजनाको पनि हेडवक्र्सको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।