सिन्धुली– सिन्धुली अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७७ माघ २९ गते शिलान्यास गरिएको सिन्धुली अस्पतालको भवनको निर्माण कार्य झण्डै तीन वर्षपछि सम्पन्न हुन लागेको हो । भ्याट बाहेक कुल २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ मा भवन निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रा.लि. ललितपुरले गुरुयोजना अनुसार भवन निर्माण गर्न नसकेको हो । जिल्ला अस्पताल सिन्धुलीले जग्गा उपलब्ध नगराउँदा ठेकेदार कम्पनिले गुरुयोजना अनुसारको भवन निर्माण गर्न नसकेको हो । गुरुयोजना अनुसार भवन निर्माण नभएपनि केहि समयमै भवन अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रमम रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले बताउनुभएको हो ।
“यहि माघ महिनामा अस्पतालको नवनिर्मित भवन हस्तान्तरण हुनेछ । ठेकेदारलाई भवन हस्तान्तरण गर्न अनुरोध गरिरहेको छु”, उहाँले भन्नुभयो । भवन लिफ्ट, सडक, पार्किङ र बगैंचा व्यवस्थापन सहितको सुविधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजनामा उल्लेख भएपनि सो अनुसार काम हुन सकेको छैन । अस्पताल अगाडिका सम्पूर्ण संरचना हटाई सुविधा सम्पन्न पार्किङ साथै बगैँचासहितको गुरुयोजना बनाए पनि योजना अनुसारको अस्पतालको संरचना भने निर्माण भएको छैन । योजना अनुसारको अस्पतालको संरचना निर्माण नभए पनि भवन निर्माण सम्पन्न भएको भन्दै हस्तान्तरणको तयारी गरिएको हो । अस्पताल विकास समिति सिन्धुलीले आफ्नै जग्गाको स्वामित्व लिन नसक्दा गुरुयोजना अनुसार भवन निर्माण नभएको अध्यक्ष ढकालले स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “तत्कालीन अस्पताल व्यवस्थापन समितिले १५ वर्ष अगाडि नै व्यवसायिसँग २० वर्षका लागि सटर भाडामा दिने निर्णय गरेको रहेछ । सोहि कारणले हामीले व्यवसायिसँग सम्झौता रद्ध गर्न सकेनौँ । सटर भएको ठाउँमा अस्पतालको गेट निर्माण गर्नुपर्ने गुरुयोजनामा थियो ।” अस्पतालको गेट गुरुयोजना अनुसार निर्माण नभएको अध्यक्ष ढकालले बताउनुभएको छ । १२ मिटरको गेट साथै पार्किङ बनाउने गुरुयोजनामा छ । हाल ६ मिटरको अस्पताल भवनको गेट निर्माण गरिएको छ ।

तत्कालिन अस्पताल व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ र २२ जना व्यवसायीबिच २०६५ सालमा दुई लाखको दरले सटर निर्माण गर्ने सम्झौता भएको श्रोतले बतायो । ४४ लाख रुपैँयामा २२ वटा सटर निर्माण भएको श्रोताले बतायो । श्रोतले भन्यो, ‘अस्पताललाई एउटा सटर वापत प्रति महिना एक हजार पाँच सय रुपैँया भाडा दिने सम्झौता अनुसार व्यवसायिले लिजमा लिएका थिए । कहिलेकाँही व्यवसायीले भाडानै तिर्दैनन् । अस्पतालको सटर व्यवस्थापन समितिको दुहुनो गाईँ हो । ”
एक–दुइवटा सटरले अस्पताललाई भाडा नदिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताउनुभयो । उहाँका अनुसार अस्पतालले भाडा उठाउन ताकेता गरिरहेको छ । “१५ वर्ष अगाडि अस्पताललाई प्रत्येक महिना १ हजार पाँच सय भाडा दिने निर्णय भएको थियो । हाल बढेर १ हजार आठ सय पुगेको छ । अस्पताललाई दुइ वर्ष देखि कुनै पनि सटरले भाडा दिएका थिएनन् । हामीले ताकेता गरेर २१ वटा सटरबाट दुइ वर्षको भाडा उठाई सकेका छौँ भने एउटा सटर अझै बाकिँ छ । भाडा दिन बाकिँ सटरले यहि आर्थिक वर्षमा सबै भाडा चुक्ता गर्ने प्रतिवद्धता समेत गरेको छ”, उहाँले भन्नुभयो ।
१५ वर्ष अघि दुई लाख रुपैँया लगानी गरेका व्यवसायीलेनै उक्त सटरको भाडा उठाउने गरेका छन् । हाल उक्त सटरको एउटा कोठाको प्रति महिना १० देखि १५ हजार बुझाउने गरेको एक भाडावालाले बताए । २२ वटा सटरबाट वार्षिक २५ लाख बढि भाडा उठ्ने गरेको श्रोतले बतायो । राजनैतिक नेतृत्व, स्थानिय सरकारदेखि सरोकारवाला निकायले समेत सिन्धुली अस्पताल गुरुयोजना अनुसार बनाउन ताकेता नगरेको स्थानिय बताउँछन् । धनाढ्य व्यवसायीसँग टकराव गर्न कोहिले नचाहेको श्रोतले बतायो ।