सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोला स्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ ।
मंगलवार डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्र २—०४—००१ त ००१० नम्बरको ट्रयाक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुधौली नगरपालिका २ भलुवाहीका ४५ वर्षिय पुष्पलाल अधिकारीले चलाएको ट्रयाक्टरले रौतहटबाट डकाहा तर्फ आउदैँ गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रयाक्टरको ठक्करबाट बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल चालकको टाउको र अनुहारमा चोट लागेको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । मृतक बोधि श्रवण धर्मका महात्मा गुरु रहेको बोधि श्रवण धर्म संघका केन्द्रिय सदस्य छत्र घिसिङले बताउनुभयो । क्षतिपुर्तिको विषयमा छलफल भइरहेको हुँदा शव जिल्ला अस्पताल सिन्धुलीमै रहेको घिसिङले जानकारी दिनुभयो । सहमतिपछि पोष्टमार्टमको प्रक्रिया अघि बढ्ने घिसिङले बताउनुभयो ।
त्यस्तै, ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ का ६३ वर्षीय विष्णु बहादुर थिङको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
को हुन् मृतक ?: दुर्घटनामा मृत्यु भएका व्यक्ति आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबा रहेको खुल्नमा आएको छ । ‘उहाँ जाहेरीकर्ताको बुबा हुनुहुन्थ्यो भन्ने खबर आएको छ, त्यसलाई भेरिफाइ गरिरहेका छौं’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले भन्नुभयो, ‘उहाँको भाइलाई बेलाएको छु, आउनुभएपछि थाहा होला ।’ त्यसक्रममा आश्रमबाट बेपत्ता किशोरीको बुबाको मृत्यु भएको पुष्टि भएको एसपी सिलवालले बताउनुभो । प्रहरीका अनुसार, उनले पछिल्लो समय बम्जनको पक्षमा सार्वजनिक अभिव्यक्तिहरु दिँदै आएका थिए । ‘अहिलेसम्म दुर्घटनामा शंकास्पद विषयहरु देखिएका छैनन्, यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’, उहाँले भन्नुभयो ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।