सिन्धुली, – सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले मुसहर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका ४ डकाहका विपन्न ४६ घरधुरी मुसहरलाई विद्यालयले फाइबर सिरक र डस्ना वितण गरेको हो । अत्याधिक चिसो बढ्दा न्यानो कपडाको अभावमा कठ्यांग्रीएर रात काट्न बाध्य विपन्न दलित समुदायको मुसहरहरुलाई घरमै पुगेर फाइबरको सिरक र डस्ना सहयोग गरेको भगवती अंग्रेजी आवासिय माविका प्रिन्सिपल कृष्ण कुमार उप्रेतीले जानकारी दिनुभयो ।
जाडोका कारण मुसहरहरु गुइठा बालेर र जागग्राम बसेर रात काट्न बाध्य थिए । न्यानो कपडा वितरण पछि मुसहरहरुका ४६ घरका २ सय ३० जनालाई राहात पुग्ने बिद्यालयले विश्वास लिएको छ । मुसहर परिवारका बालबालिका तथा बृद्ध बृद्धाहरु चिसोका कारण विरामी पर्न थालेको र घरमा ओढ्ने ओछ्याउने कपडाको अभाव भएको स्थानीय समाजसेवी बेदराज दाहालले जानकारी गराएपछी विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व ठानेर २ लाख ५० हजार बराबरको सिरक डस्ना खरिद गरेर वितरण गरिको उहाँले बताउनुभयो ।

नागरीकहरु चिसोले कठ्यांग्रीए पनि सरकारको ध्यान पुग्न नसकेको बेला भगवती माविले मुहसर बस्तीमै पुगेर न्यानो कपडा वितरण गरेर सहयोग पुर्याएको स्थानीय तथा संविधान सभा सदस्य विषमलाल अधिकारी दनुवारले बताउनुभएको छ । मुसहरहरु दलित समुदायकै अति पिछडीएको समुदाय हो । दैनिक अर्काको मजदुरी गरेर परिवार पाल्दै आएका मुसहरहरु न्यानो कपडा पाएपछि खुसी भएका छन । भगवती माविले विगत ३० वर्षदेखि हरेक वर्ष सामाजीक कार्यमा समेत सहभागती जनाउँदै आएको छ ।
विद्यालयले यस अघि देखिनै द्धन्द्ध पिडित तथा अनाथ बालबालिकाहरुलाई निशुल्क पठनपाठन गराउनुका साथै बाढीपिडित, आगलागी पिडीतका साथै सामुदायिक विद्यालयका विपन्न बालबालिकाहरुलाई समेत सहयोग गर्दै आएको विद्यालयका अध्यक्ष संजय कुमार दाहालले बताउनुभयो । अत्याधिक चिसो बढ्दै गएपछि मुसहर समुदायका बृद्धबृद्धा तथा बालबालिकाहरु विरामी पर्न थालेपछि भगवती माविका अध्यक्ष संजय दाहाल, प्रिन्सिपल कृष्ण उप्रेती, आर्थिक प्रशासन प्रमुख रमाकान्त सुवेदी विद्यालयका फाउण्डर गोपाल पौडेल लगायतले मुसहरको घरघरमै पुगेर फाइबरको सिरक र डस्ना वितरण गर्नुभएको हो ।