बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

बम्जनको पक्राउ पछि सिन्धुलीका अनुयायीहरु आक्रोशीत

बिहिवार , पौष २६, २०८०

सिन्धुली – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले ‘तपस्वी’ राम बहादुर बम्जनलाई मंगलबार पक्राउ गरेसँगै सिन्धुलीमा रहेका उनका अनुयीहरु आक्रोशित बनेका छन ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो । उनको पक्राउँसगै जिल्लामा रहेको बोधी श्रवण धर्मसंघ सिन्धुली र उनका अनुयायीहरु आक्रोशीत बनेका हुन ।

बोधी श्रवण धर्म संघ सिन्धुलीकी अध्यक्ष फुलकुमारी घिसिङ्गले गुरु माथि झुटा आरोप लगाएर बदनाम गर्ने षड्यन्त्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उहाँमाथि कपोकल्पित र झुठा आरोप लगाएर फसाउने षड्यन्त्र भएको छ, यो कुरा जायज छैन । उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो, धमिरा लागेको शरीरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो । हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो ।” गुरुलाई विभिन्न् सरकारले दुःख दिएको बताउँदै गुरुको महत्वलाई चिन्न नसकेको घिसिङले बताउनुभयो ।

नेपाल समाजवादी पार्टी सिन्धुलीका नेता सुरतवहादुर स्याङ्तान बृहतले बम्जनको पक्राउलाई लिएर असन्तुष्टि जनाउनु भएको छ ।

सामाजिक संजाल फेसबुक मार्फत असन्तुष्टी ब्यक्त गर्दै स्याङ्तानले लेख्नु भएको छ, “विदेशी धर्मको बुंई चढेर कुनै धर्म सम्प्रदायलाई नियोजित ढंगले बदनाम गरेर अस्तित्व समाप्त पार्ने षड्यन्त्र पनि हामीले देखिनैं रहेका छौं । त्यसको शिकार रामबहादुर बम्जन लाई बनाउन पाइदैन ।”

उहाँ लेख्नु हुन्छ,“तपस्वी रामबहादुर बम्जन गिरफतार भएको समाचार आयो । धर्मको नाममा विश्वविख्यात चर्चहरुमा पोप र पादरीहरुले गरेका यौन शोषण र अमानवीय व्यबहार हुने गरेको पटक पटक हामीले सुन्दै आएको छौं । धर्म गुरुहरुले प्रसाद भनेर मल मुत्र खुवाएको कुरा पनि सुनिएकै छ । पशुपतिनाथ मन्दिरको भेटीमा करोडौं भ्रष्टाचार भएको तथ्य पनि सुनेकै छौं । धर्मका नाममा बेथितिहरु व्याप्त छ नैं । धर्म ग्रन्थहरूमा पनि भगवानहरुले नैं यौन शोषण गरेको उल्लेख छ ।

भगवान कृष्णको सोह्रसय गोपिनीसँग यौन सम्बन्ध, राजा दशरथको ३ रानी, भगवान विष्णुले जालन्धरको श्रीमतीसँग छल गरेर यौन सम्बन्ध राखेको, भगवान शिवले शिव भट्ट ब्राम्हणको रुप धारण गरेर ७ वर्षिया वालिका गोमासँग विवाह गरेको जस्ता यौनजन्य विकृति धर्म ग्रन्थहरू मैं उल्लेख छ ।

काल्पनिक कथाहरुमा जेसुकै भएपनि वास्तविक जीवनमा बेथिति सैह्य हुँदैन । दोषी उपर सजाय हुनु पर्छ । तर विदेशी धर्मको बुंई चढेर कुनै धर्म सम्प्रदायलाई नियोजित ढंगले बदनाम गरेर अस्तित्व समाप्त पार्ने षड्यन्त्र पनि हामीले देखिनैं रहेका छौं । त्यसको शिकार रामबहादुर बम्जन लाई बनाउन पाइदैन ।”

त्यस्तै सिन्धुलीकै सुरेन्द्र बम्जनले सामाजिक संजालमा तपस्वी गुरुलाई नहुने प्रपन्च रचेर फसाईएको बताउनु भएको छ । सामाजिक संजाल मार्फत आक्रोश ब्यक्त गर्दै उहाँ लेख्नु हुन्छ, “नेशनल जीयोग्राफी र डिसकभरी विश्व विख्यात च्यानलले समेत गलत नभेटाइएको तपस्वी सर्वज्ञानी महागुरु प्रती हुने नहुने प्रपञ्च रचेर फसाइएको हामी बुझ्न सक्छौ । जहाँसम्म पैसाको कुरा आयो । उहाँको भक्तजन र अनुयायीहरु नेपालमा मात्र होइन । विश्वको १६२ओटा देशमा गुम्बा बनाएर उहाँ लाई प्रार्थना गरिरहेको छ भन्ने जानकारी छ । पक्कै पनि ती भक्तजन र अनुयायीहरुले दान गरेको सहयोग हुनु पर्छ ।”

बम्जन लेख्नु हुन्छ, “अस्ति भर्खर बुद्ध धर्म गुरु दलाई लामाले राम बहादुर बम्जन गौतम बुद्धको अर्को जन्म हो भनेर घोषणा गरेको पनि सुनेको छु । हामी नकारात्मक होइन सकारात्मक बनौ । उहाँको पछाडि एउटा सक्रीय गिरोह केही बर्ष देखि लागिपरेको छ जस्ले गर्दा उहाँको सच्चा आनिहरुलाई उचालेर गुरुप्रती नकारात्मक आरोप लगाएको प्रष्ट छ । विश्व शान्ती र सर्व मंगलमको तपस्यामा बसेको सर्वज्ञानी महा गुरुको नेपाली र नेपाल सरकारले सच्चा प्रचारप्रसार र सुरक्षा दिन सकेन । जुन आज देखिरहेको छौ । सत्यतथ्य बाहिर आओस, सर्वज्ञा मैत्री मंगलम !”

बोधी श्रवण धर्म संघ केन्द्रीय समितिले बिरोधका कार्यक्रमहरु सार्वजनिक नगरेका कारण जिल्ला शाखाले पनि कुनै कार्यक्रम तय नगरेको र निष्पक्ष छानबिन हुनुपर्ने र त्यसका लागी सहयोग गर्ने बोधी श्रबण धर्म संघ सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका–५ पैरेमा आश्रम स्थल बनाएर आफ्ना अनुयायीहरुको साथमा बम्जन बस्दै आउनुभएको थियो । अहिले पनि बम्जनका अनुयायीहरु उक्त स्थानमा रहेका छन ।

बम्जनको पक्राउ पछि सिन्धुली जिल्लामा पनि उनका अनुयायी र आश्रममा गतिविधीहरु चलिरहेकाले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर गतिविधीहरुलाई निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कानुनी प्रक्रियालाई सहज हिसाबले अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने प्रहरीले बताएको छ ।

बम्जन बिरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्धा दर्ता रहेको छ । उनीमाथि बलात्कार र व्यक्ति मानिस बेपत्ता पारेको आरोप छ ।

प्रतिक्रिया