बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको पर्पल होटलमा हरपल झगडाको चहलपहल

बुधवार , पौष २५, २०८०

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित रातमाटामा रहेको पर्पल होटल झगडाको केन्द्र बन्दै गएको छ । माओवादी केन्द्र निकट रहेका अम्बरदिप थापाले संचालन गरेको पर्पल होटलमा सत्ता र शक्तिको नजिक रहेका व्यक्तिहरुकै चहलपहल हुने गरेको छ । राजनैतिक आस्थाप्रति विमत्ति र सत्तासँगै रक्सिको मात चढेपछि यहाँका ग्राहकहरु एकआपसमा भिड्ने गरेको श्रोतले बताएको छ । केहि महिनाअघि मात्रै माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र नेपाली सेनाका एक क्याप्टेनबिच पर्पल होटलमा बबाल मच्चिएको श्रोतले बतायो । यतिसम्मकि होटलको ब्यानर लगायतका संरचनामा समेत तोडफोड भएको थियो ।

सोमबार साँझ ७ बजे पर्पल होटलमा त्यस्तै बबाल मच्चियो । बैंकिङ कसूर सम्बन्धि मुद्धामा पर्पल होटलकै संचालक अम्बरदिप थापालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली पुग्दा केहि समय विवाद भएको प्रत्यक्षदर्शिले बताएका छन् । माधवी रिमालको जाहेरीले जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ५ घर भएका थापालाई पक्राउ गर्न खोज्दा माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज एवं प्रतिनिधिसभा सांसद लेखनाथ दाहाल ‘राजन’ को स्वकिय सचिव गणेश रत्नलाई प्रहरीले लचारपछार पारेको श्रोतले बतायो । थापालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा होटलमै रहेका रत्नले विरोध गरेपछि प्रहरीले बन्दुकको कुन्दाले हिर्काएको श्रोतले बतायो । फिल्मी शैलिमा होटल प्रवेश गरेको प्रहरीले थापालाई विनम्रतापुर्वक सम्झाएपनि हिरासतमा आउन नखोजेपछि जबरजस्ति गरेको प्रहरी श्रोतले बतायो । प्रहरी श्रोतले भन्यो, “सामान्य विवाद भएको हो । पक्राउ गर्न खोज्दा प्रतिवाद गरेपछि ठेलमठेलसँगै हात हालाहाल भएकै हो ।” थापाको नाममा रहेको बैंक खाताबाट ५ लाखको चेक काटिएकोमा खातामा पैसा नभएपछि जाहेरिकर्ता रिमालले चेक बाउन्स भएको भन्दै प्रहरीकोमा मुद्धा दर्ता गराउनुभएको थियो ।

“बैंकिङ कसुर’ मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सोमबार पक्राउ अनुमति लिई खोजतलास गर्दै जाने क्रममा आफ्नै होटलबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । उनलाई पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपि दाहालले जानकारी दिनुभयो । सांसदका स्वकिय सचिवमाथि आक्रमण भएको विषयमा आरोपितलाई पक्राउ गर्न खोज्दा सामान्य ठेलमठाल भएको बिफ्रिङ आएको तर आक्रमण नभएको डिएसपि दाहालले बताउनुभयो । राजनैतिक पृष्ठभुमिका थापा पक्राउ परेको विषयमा प्रवक्ता दाहालले भन्नुभयो, “उहाँ कुन दलमा आबद्ध हुनुहुन्छ वा हुनुहुदैँन, त्यो सरोकारको विषय होइन । अनुसन्धानमा कुनैपनि कमजोरि हुनेछैन ।”

त्यस्तै, ‘बैंकिङ कसुर’ कै मुद्धामा गोलन्जोर गाउँपालिका वडा नं.७ का ३७ वर्षिय धर्मेन्द्र कुमार श्रेष्ठ पक्राउ परेका छन् । गणेश परियारको जाहेरीले ‘बैंकिङ कसुर’ मुद्धामा सिन्धुली जिल्ला अदालतबाट गत मंसिर १८ गते पक्राउ अनुमति लिई खोज तलास गरिरहेको थियो । उनलाई सोमवारनै खुर्कोट बजारबाट पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थपरे नुसन्धान भईरहेको डिएसपि दाहालले बताउनुभयो । उनले साढे दुई लाखको चेक परियारलाई दिएपनि सो खातामा पैसा नभएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका थिए । श्रेष्ठलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि अनुसन्धान भईरहेको डिएसपि दाहालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया