सिन्धुली– सिन्धुलीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै अदालतको फैसला नमान्ने एकजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
जिल्लाको मरिण गाउँपालिका वडा नम्बर ५ स्थित वडीमुहानमा ४७ वर्षिय श्याम कुमारी माझिको जग्गा कब्जा गर्न खोज्ने एकजनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो । माझिको जग्गा कब्जा गरी बल्क र काठको घर बनाउने ५१ वर्षिय रुपेश माझीलाई प्रहरीले पक्राउ गरेको बागमती प्रदेश प्रहरीले जनाएको छ । माझीले आफ्नो जग्गा कब्जा गरि घर बनाएको भन्दै पिडितले २०७७ सालमा सिन्धुली जिल्ला अदालतमा फिराद पत्र दिनुभएको थियो । जिल्ला अदालत सिन्धुलीले माझीको फिरादमा सुनुवाई गर्दै चैत ७ गते फैसला कार्यान्वयनको निर्णय गरेको थियो ।
फैसलापछि अदालतबाट खटिएको टोलीले उक्त घर खाली गराएकोमा रुपेश माझि र उनीसँगै आएका अन्दाजि ३÷४ जना विप्लव कार्यकर्ता हुँ भन्दै अदालतको फैसला नमान्ने बताएकाथिए । उनीहरुले उक्त घरको ताला फुटाउन हम्मरले हानेको प्रहरीले जनाएको छ । अन्य तीनजना फरार रहेको र अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरीले बताएको छ ।