सिन्धुली – सरकारी बिकास निर्माणका आयोजना तथा परियोजनाहरुको शिलान्यास र उदघाटन गर्ने परम्पराका कारण राज्यलाई अनावश्यक ब्ययभार बढ्दै गईरहेको छ ।
स्थानीय सरकार देखी प्रदेश र केन्द्र सरकारको तर्फबाट सञ्चालित आयोजना र परियोजनाहरुको राज्यका विभिन्न् ओहोदामा रहेका ब्यक्तिहरुको उपथितीमा हुने शिलान्यास र उद्घाटनले नागरिकहरुलाई उपलब्धी भन्दा पनि भार थपिने गरेको छ । त्यतिमात्र होइन सार्वजनिक निकायले गर्ने बिना उपलब्धीका बार्षिक उत्सब, स्थापना दिवस तथा अन्य समारोहका कारण पनि राज्यलाई आर्थिक भार थपिदै गएको छ । नागरिकहरुले तिरेको कर जनप्रतिनिधी, कर्मचारी तथा राजनैतिक दलका नेताहरुलाई फुलमाला, खादा, ब्याज र राम रमाईलोमा खर्च गरिनु दुःखद रहेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ शिलान्यास र उद्घाटनको सस्कृति मौलाउँदै गएको छ, जनप्रतिनिधी र राजनैतिक दलहरु होडबाजीका साथ फुलमाला र खादामा सजिएर ठुला ठुला भाषण गर्ने तर ब्यवाहारमा कुनै उपलब्धी नहुने समस्या छ ।” परम्परालाई परिवर्तन गरेर नेता भन्दा पनि नागरिकले अपनत्व लिने गरि शिलान्यास र उदघाटन गर्नुपर्ने उहाँको भनाई छ ।
शिलान्यास र उदघाटनको सस्कृतिले राज्यलाई भार त बढाएकै छ त्यो भन्दा अझ बढी जनप्रतिनिधी र दलका नेताहरुमा प्रमुख अतिथी को बन्ने भन्ने होडबाजी समेत चल्ने गरेको छ । नागरिकको करबाट भएको बिकासको जस कुन नेता र कुन पार्टीले लिने भन्ने होडबाजी समेत प्रसस्त मात्रामा हुने गरेको छ । कार्यालयमा बसेर नागरिकहरुलाई सेवा प्रवाह गर्नुपर्ने जनप्रतिनिधी र कर्मचारीहरु समेत दिनभर कार्यालय छाडेर शिलान्यास, उदघाटन, तथा विभिन्न् समारोहमा अतिथी बनेर दिन कटाईरहेको अवस्था छ जस्का कारण नागरिकले कार्यालयबाट पाउनुपर्ने सेवा पाउन सकिरहेको अवस्था छैन । सुशासन प्रबद्र्धन हुन सकेको अवस्था छैन । जनप्रतिनिधी र कर्मचारीहरुले आफुले के गर्ने र के नगर्ने भन्ने कुरा भुलिरहेको अवस्था छ । त्यतिमात्र होइन जिल्लाका बिभिन्न् स्थानमा हुने कार्यक्रममा दर्जनौं सरकारी सवारीसाधनको लावा लस्कर लाग्ने गरेको छ । अतिथी बन्नकै लागी सरकारी सवारीसाधनलाई प्रयोग गरेर जनप्रतिनिधी र कर्मचारीहरुले सवारी साधनको प्रयोग भन्दा बढी दुरुपयोग गरिरहेका छन ।
शिलान्यास, उदघाटन र सार्वजनिक सस्थाका स्थापना दिवस तथा बार्षिक उत्सबहरु आर्थिक हिसाबले मितब्ययी र संस्थागत हिसाबले उपलब्धीमुलक बन्न सकिरहेको अवस्था छैन । जस्ले गर्दा सम्बन्धीत क्षेत्रमा हुनुपर्ने खर्च असम्बन्धीत क्षेत्रमा भईरहेको छ ।
केन्द्र स्तरबाट सञ्चालित आयोजनाहरुमा त प्रधानमन्त्री तथा मन्त्रीहरुकै उपस्थिती हुने हुँदा झन बढी राज्यको सम्पतिको अनावश्यक दुरुपयोग भईरहेको छ । सवारी साधनमात्र हैन हेलिकोप्टरकै भाडा स्थानीय तहले तिरेर प्रधानमन्त्री तथा मन्त्रीहरु ल्याएर शिलान्यास तथा उदघाटनका कार्यक्रम गरेका प्रसस्त उदाहरण समेत हाम्रो जिल्लामा रहेको छ ।
शिलान्यास र उदघाटन गर्ने तर उक्त आयोजना तथा परियोजनाहरुको गुणस्तर बारे चासै नदिने शैलीका कारण कतिपय आयोजनाहरु लथालिंग समेत बन्ने गरेका छन । कुन दलले सुरु गरेको योजना हो त्यहि दल र दलका नेताले जस लिने होडबाजीका कारण पनि जिल्लामा सञ्चालित कतिपय आयोजनाहरु अधुरो अवस्थामा रहन पुगेका छन ।
बिकासमा दिर्घकालिन सोच बिना सुरु गरिएका आयोजनाहरु बीचैमा रोकिनुपर्ने अवस्था पनि रहेको छ । आयोजनाको बिस्तृत बिवरण बनाउन लाखौं खर्च गर्ने तर राजनैतिक कारणले बजेट बिनीयोजन भने नहुने हुँदा पनि राज्य घाटामा गईरहेको छ ।
बिना उपलब्धीका शिलान्यास, उदघाटन तथा विभिन्न् समारोहहरुको सस्कृतिलाई अन्त्य गर्दै राज्यको ब्यवभार घटाउनु पर्ने र विकासलाई नागरिकहरुले अपनत्व लिने बातावरण बनाउन सकेमात्र गुणस्तरिय र उपलब्धीमुलक बन्न सक्ने स्थानीयहरु बताउछन ।
सिन्धुलीका सांसदलाई उद्घाटन मोह !: संघीय सांसद लेखनाथ दाहाल ‘राजन’ ले सिन्धुलीका कार्यक्रममा प्रमुख अतिथि बन्न नपाउँदा कार्यक्रमनै भाँड्ने गरेको नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले आरोप लगाउनुभएको छ । घिसिङले सामाजिक संजाल फेसबुक मार्फत दाहालको प्रमुख अतिथि बन्ने मोहको बारेमा टिप्पणी गर्नुभएको हो ।
जिल्लाका कार्यक्रममा प्रमुख अतिथि नपाउँदा कार्यकर्ता लगाएर कार्यक्रमनै भाँड्न खोज्ने राजन प्रवृत्तिबारे आफू जानकार रहेको घिसिङले बताउनुभएको छ । सांसद दाहालले जिल्लामा नवनिर्मित संरचनाको शिलालेखमा आफ्नो नाम नराख्दा वितण्डा मच्चाउने गरेको घिसिङले आरोप लगाउनुभएको छ । आफ्नो नाम शिलालेखमा नभएपछि सांसद दाहालले अरुको नामपनि राख्न नदिने गरेको सूचना आफूसँग रहेको घिसिङले बताउनुभएको छ ।