बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको ग्रामीण क्षेत्रमा बढ्दै बसाईसराई

सोमवार , पौष १६, २०८०

सिन्धुली – पछिल्लो सयम सिन्धुली तिब्र गतिमा विकास भईरहेको छ । वीपी, मध्यपहाडी र मदनभण्डारी राजमार्गका कारण जिल्ला राजमार्गको सञ्जालको रुपमा विकास भएको छ तर पनि जिल्ला बाहिर तथा जिल्ला भित्रै बसाईसराई गर्ने मानिसहरुको संख्यामा कमि आउन भने सकेको छैन ।

अहिले सडक नपुगेका गाउँ छैनन् । केही वर्ष पहिलेसम्म अधिकांश गाउँमा गाडी पुग्दैनथे । प्लस टु पढ्न पनि सिन्धुलीमाढी आईपुग्नुपथ्र्यो । बिजुली नहुँदा गाउँ अन्धकार थिए । प्राथमिक बाहेकका उपचारका लागि पनि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता थियो । अचेल गाउँ फेरिएका छन् । बिजुली, सडक, अस्पताल र कलेज घरछेउमै छन् । तर, मान्छेका मन फेरिएका छैनन् । सहर र परदेशमोहले खेतबारी झाडी भएका छन् । बिरामी परे डाक्टरले दिएको तालिका अनुसार औषधि खाने उपाय वृद्धवृद्धासँग छैन ।

फिक्कल गाउँपालिका–२ पोखरीका लिलाधर पहाडीले ऋण हुनेले परदेश खोज्ने र पैसा हुनेले सहर खोजेको कारण गाउँ रित्तो भएको बताउनुभयो । छोराबुहारीहरू सम्पत्ति सम्झेर सहरबाट नफर्किएपछि आफूहरू पनि घर र बाँदर रुँगेर नबस्ने मानसिकता बनाएको पहाडीले बताउनुभयो । “गाउँमा बिरामी परे अस्पताल र मरे घाट लैजाने मान्छे छैनन् । बाटा र स्कुल लगायतका विकास कसका लागि गर्ने ?” उहाँले भन्नुभयो, “गाउँ फेरिए पनि मान्छेका मन नफेरिने भयो ।”

जिल्लाका ग्रामीण क्षेत्रका गाउँमा मान्छे बस्नेभन्दा छोडेका घरहरूको संख्या बढ्दै गईरहेको छ । अधिकांश व्यक्ति सुविधा खोज्दै सहर र सदरमुकाम झरेका छन् । गाउँ छोड्नेहरूको संख्या बढिरहेको छ । युवाहरू काम गर्न परदेश पसेपछि श्रीमती पनि बच्चा बोकेर सहर झरेसँगै अधिकांश परिवार बसाई सर्ने गरेका छन् ।रोजगारी र शिक्षाकै कारण गाउँ छोड्नेहरू बढिरहेको तिनपाटन गाउँपालिका–८ तोश्रामखोलाका घनश्याम समाल मगरले बताउनुभयो । “छिटो आम्दानी र सुख खोजेर पछिल्लो पुस्ता गाउँमा बस्नै खोज्दैनन्,” उहाँले भन्नुभयो, “बुबाआमा बाध्य भएर घरमा ताल्चा ठोक्न बाध्य छन् ।”

जिल्लाको घ्याङलेख, फिक्कल, गोलन्जोर, तिनपाटन क्षेत्रबाट बसाईसराई गरी कमलामाई नगरपालिका आउनेहरुको संख्या अत्याधिक बढिरहरेको छ । स्थानीय सरकारको सीमित बजेट छ । त्यो बजेट पनि प्रत्येक वडामा कार्यकर्ता रिझाउने टुक्रे योजनामा सीमित छन् । जसका कारण बसाइँसराइ रोक्ने दीर्घकालीन योजना बन्न सकेका छैनन् ।

स्थानीय तहहरुले बसाईसराई र युवा पलायन रोक्न युवालाई कृषि, पर्यटन र पशुपालनमा व्यावसायिक योजना ल्याएको छ । कृषिमा यान्त्रिकीकरण पनि भइरहेको छ । युवामा जागीरे मानसिकता बढी देखियो । विदेश, काठमाडौँ वा तराई भन्ने मात्र सोचाइ विकास भयो । गाउँमै केही गरौँ गर्नुपर्छ भन्ने बुझ्न नसकेको फिक्कल गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष कुलेन्द्र रानामगरले बताउनुभयो ।

आर्थिक रुपमा मध्यमस्तरका परिवारको बसाइँसराइ धेरै रहेको पाइन्छ । बसाइँसराइको दर उच्च रहेको भए पनि के कति छोडेर गए भन्ने तथ्याङ्क भने छैन । घर छाडेकाले बसाइँसराइ भने लगेका छैनन् । “छिटफुटले बसाइँसराइ लगे पनि गाउँको जग्गा बेचेका छैनन”, घ्याङलेख गाउँपालिका वडा न.४ का वडाध्यक्ष अमृत वाईवाले भन्नुभयोे, “युवालाई गाउँ फर्काउने योजना बनाउँदैछु ।” दुःख छउञ्जेल बसेका मानिस विकास आउँदा विस्थापित हुनु दुःखद् भएको उहाँले बताउनुभयो ।

विद्युत्, खानेपानी, शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा समेत केही सुनौला किरण देखिएका भए पनि अवसरलाई पछ्याउनेको संख्या कमै रहेको वडा अध्यक्ष वाईवा बताउनुहुन्छ ।

गाउँमा बसेर ब्यवसाय गर्ने युवाहरु कमै छन । गाउँमै बसेर पेशा ब्यवसाय गरिरहेका युवाहरु पनि आफ्नो उत्पादनको मुल्य नपाउँदा र स्थानीय सरकारले उनीहरुलाई प्रोत्साहन गर्न नसक्दा पलायन हुने अवस्थामा पुगेका छन । गोलन्जोर गाउँपालिका–३ ग्वाल्टारमा पैलेटी एग्रो फार्म सञ्चालन गरिरहेका युवा गौरब कार्की भन्नुहुन्छ, “युवाहरुलाई ब्यवसायीक बनाउन सरकारसँग कुनै योजना छैन, प्रोत्साहन र अनुदानका कार्यक्रमहरु पनि दलका कार्यकर्ताहरुले मात्र पाउछन ।”

स्थानीय सरकारले बसाईसराई , युवा पलायन रोक्न गाउँमै कृषि ब्यवसाय गर्न प्रेरित गर्नुपर्ने साथै उनीहरुबाट उत्पादित बस्तुको बजार र उचित मुल्य पाउने ब्यवस्था गर्नुपर्ने कार्कीको भनाई छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याकं अनुसार सिन्धुलीको कुल जनसंख्या ३ लाख २६ रहेको छ जसमध्ये कमलामाई नगरपालिकामा ७१ हजार १६, दुधौली नगरपालिकामा ७० हजार २ सय ६, तिनपाटन गाउँपालिकामा ३४ हजार ८ सय ८९, सुनकोशी गाउँपालिकामा १८ हजार ३ सय ७५, गोलन्जोर गाउँपालिकामा १८ हजार ७ सय ३७, हरिहरपुरगढी गाउँपालिकामा २६ हजार ५ सय ५, मरिण गाउँपालिकामा २८ हजार ८ सय ८, घ्याङलेक गाउँपालिकामा १२ हजार ६ सय ५२ र फिक्कल गाउँपालिकामा १५ हजार ९ सय १० जनसंख्या रहेको छ ।

ग्रामीण क्षेत्रका गाउँपालिकाबाट जिल्ला बाहिर तथा जिल्ला भित्रै बसाई सर्ने क्रम जारी छ भने युवाहरु रोजगारीका शिलशिलामा बिदेश तथा देशभित्रकै सहरहरुमा जाने क्रम रोकिएको छैन । सिमित रोजगारीमा आवद्ध युवाहरु बाहेक गाउँमा युवाहरु भेटाउँनै मुस्कील हुने गरेका छ ।

सिन्धुलीको कमलामाईमात्र सुगम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ सालमा सार्वजनिक गरेको वर्गीकरण सूचिमा सिन्धुलीका पाँच स्थानीय तह ‘ख’ वर्ग अर्थात् दुर्गमको सूचीमा परेका छन् । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये एउटा नगरपालिका र चार गाउँपालिका दुर्गमको सूचिमा परेका हुन् ।गोलन्जोर, फिक्कल, मरिण र हरिहरपुगरढी गाउँपालिका र दुधौली नगरपालिका ‘ख’ वर्ग अर्थात् दुर्गमको सूचिमा परेका छन् । त्यस्तै, ‘ग’ वर्ग अर्थात् मध्य दुर्गमको सूचिमा तीनवटा गाउँपालिका परेका छन् । घ्याङलेख, तीनपाटन र मरिण गाउँपालिका मध्यम दुर्गममा सूचिकृत भएको छ । त्यसेगरि, जिल्लाका नौँवटा स्थानिय तहमध्य कमलामाई नगरपालिकमात्र ‘घ’ अर्थात सुगमको सूचिमा परेको छ ।  जिल्ला समन्वय समितिले दिएको सूचनाका आधारमा मन्त्रालयले स्थानीय तहरूको वर्गीकरण गरेको हो ।

यातायात सुविधा, प्रदेश राजधानी तथा जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार, विद्युत्, मानव विकास सूचकांक, भौगोलिक अवस्था आदिका आधारमा उक्त वर्गीकरण गरिएको हो ।  स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरिएको छ । ‘क’ अति दुर्गम, ‘ख’ दुर्गम, ‘ग’ मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहको संज्ञा दिइएको छ ।

प्रतिक्रिया