सिन्धुली– नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा सिन्धुलीले निशुल्क रगत उपलब्ध गराउने उद्धेश्यका साथ संचालनमा ल्याउन लागेको ब्लड बैंक स्थापनाकालागि एक करोड रुपैँया बढि सहयोग संकलन भएको छ । एक करोडको अक्षय कोष स्थापनाको लागि शुरु गरिएको अभियानमा थप ५० लाख बढि सहयोग जुटाएर रकम संकलन कार्यक्रम बन्द गरिने सभापति अशोक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभियान शुरु गरेको पाँच महिनामा एक करोड २८ लाख रुपैयाँ हारहारीमा सहयोग संकलन भएको छ ।’ अक्षय कोष स्थापनाको लागि साउन १० गते बाट स्वइच्छा सहयोगका लागि अभियान सुरु गरिएको थियो ।
एक करोडलाई मुलधन बनाएर सो रकमबाट आएको ब्याजबाट ब्लड बैंक सन्चालनको लागि सम्पुर्ण व्यवस्थापन गरिने कार्यविधि बनेको श्रेष्ठको भनाई छ । ‘बैंकले कम प्रतिशतमा ब्याज दिदैँ आएको छ । बैंकले वार्षिक ब्याज १० प्रतिशतनै दिएपनि एक करोडको वार्षिक ब्याज १० लाख हारहारीमा आउँछ । ब्लड बैंक संचालनकालागी न्युनतम १२ लाख खर्च हुन्छ ’, उहाँले भन्नुभयो,‘ब्याज कम आउने भएकाले एक करोडको अभियानलाई डेढ करोड पुर्याइएको हो ।’ अभियानमा जिल्लावासीको सकारात्मक सहयोग मिलेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वेदश तथा विदेशमा रहनुभएको सहयोगी मनले पुण्य काममा साथ दिनुभएको छ । अभियानमा नौँवटा पालिका मध्ये ६ वटाले सहयोग गरेको र तीनवटा पालिकाले पनि सहयोग गर्ने बचन दिएको श्रेष्ठले बताउनुभयो । डेढ करोडको अक्षय कोष स्थापना अभियान माघको पहिलो हप्तासम्मा सम्पन्न गर्ने अपेक्षा राखिएको छ ।