बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

दुधौलीको कार्यपालिका सदस्यनै रुसी सेनामा भर्ति

बुधवार , पौष ११, २०८०

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकाका कार्यपालिका सदस्य जित बहादुर भुजेल रुसी सेनामा भर्ति हुनुभएको छ । नेपाली कांग्रेसतर्फको दुधौली नगरपालिका वडा नम्बर २ का वडा समिति सभापति समेत रहनु भएको भुजेल कहिले र कसरी रसिया पुग्नुभयो भन्ने कुरा भुजेलका आफन्त साथीहरुलाई समेत थाहा नभएको आफन्तहरुको भनाई रहेको छ ।

आकस्मत भुजेल आफैँले सामाजिक संजालमा रुसी सेनाको पोशाक लगाएर तस्विर सार्वजनिक गरेपछि मात्रै भुजेल रुसी सेनामा भर्ति भएको जानकारी पाएको आफन्तहरुको भनाई रहेको छ । नेपालमा हुँदा संघर्ष र देशप्रेमको विषयलाई उठान गर्ने यूवा नेता भुजेल कसैलाई थाहै नदिई रसियाको रेड जोन एरियामा रसियन आर्मीको रुपमा भर्ति भएपछि आफन्तहरु चिन्तित भएका छन् । गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानिय तहको चुनावमा भुजेल दुधौली नगरपाकिलाको वडा नम्बर २ का अध्यक्षका प्रत्यासि हुनुहुन्थ्यो । उहाँले ९० मत कम ल्याएर नेकपा एमालेका रितेश राउतसँग पराजित हुनुभएको थियो । भुजेलले यूवा नेताहरुको भिडमा प्रखर र प्रष्ट वक्ताको रुपमा आफ्नो परिचय बनाउनु भएको थियो । ‘गाँउघरमा जन्ति र मलामी जाने यूवाहरु नै भएन हामीले केहि गर्नु पर्छ भनेर सम्झाउने साथी नै एक्कासी रसियाको सैनीक पोसाकमा देख्दा सपना जस्तै लागेको छ’, दुधौली नगरपालिका १ का कांग्रेस यूवा नेता गोबिन्द पाहाडीले बताउनुभयो ।

मरे–बाँचेकै थाहा हुन छोड्यो

रुसी सेनामा भर्ती भई युक्रेनको जापरियामा खटिनुभएका गंगाजुमना गाँउपालिका–३ धादिङका ३७ वर्षीय पूर्णवहादुर गुरुङले युद्धमा जानुअघि मंसिर १३ मा फेसबुकमा लेख्नुभएको थियो, ‘मैले जीवनमा धेरै सपनाहरु पछ्याएँ । मलाई थाहा छैन, भोलि के हुन्छ ? हेर्दै जाऊँ ।’

रुसी सेनामा भर्ना भएदेखि तालिमको क्रममा आधुनिक हतियार चलाएकासम्म भिडियोहरु राखिरहनुहुन्थ्यो । एक महिने आधारभूत तालिम लिएर मंसिर १३ गते पहिलो पटक युद्धमैदानमा प्रवेश गरेका पूर्णबहादुरलाई बारुदी सुरुङ (ल्याण्ड माइन) ले उडाइदियो । युद्ध मैदानबाट बाँचेर फर्केर आएका उनका साथीले मंसिर २२ गते पूर्णवहादुरका साइँला दाजु श्यामबहादुरलाई लडाइँको क्रममा पूर्णबहादुरको क्षतविक्षत शरिरको भिडियो पठाइदिनुभयो । ‘भाई युक्रेनको माइनमा परेर ज्यान गुमाएको भिडियो पाएँ । त्यो भिडियो निकै दर्दनाक थियो । मैले भाईको अनुहार प्रष्टसँग चिन्न सकें,’ श्यामबहादुरले भन्नुभयो, ‘मंसिर १८ गते नै भाईको मृत्यु भएको रहेछ ।’

पूर्णबहादुरसँगै अर्का नेपालीको पनि ज्यान गएको थियो । तिनको भने पहिचान खुलेको छैन । ‘भाईको शव आउँछ जस्तो लागेन । हामीले भाईको तस्बिर राखेर दाहसंस्कार ग¥यौं । ३ दिनमै काजक्रियाको काम सक्यौं,’ उहाँले भन्नुभयो, ‘मृत्यु भएको २० दिन भइसकेको छ । यसबारे न रुस सरकारले औपचारिक खबर दिन्छ । न नेपाल सरकार नै केही बोल्छ ।’ श्यामबहादुरकाअनुसार साथीले नदेखेको र भिडियो नलिएको भए पूर्णबहादुरको अवस्था अज्ञात हुने थियो । १२ वर्षको छोरा र ६ वर्षकी छोरीलाई छाडेर सुखद भविष्यको लागि रुस पुगेको ४५ औं दिनमा नै पूर्णबहादुरले देखेको सपना युक्रेनी भूमिमा बिलायो । ‘भाई दुईवर्ष साउदी अरबमा काम गरेर फर्केको थियो । उ सामान्य नागरिक हो । प्रहरी–सेनाको काम गरेको होइन । ८ लाख रुपैयाँ तिरेर अष्टमीको भोलिपल्ट रुसी सेनामा भर्ती हुन गयो । कसले पठायो पनि थाहा छैन । एजेन्टले पत्ता लगाउन सकेको छैन,’ पोर्चुगलबाट हालै फिरेका श्यामबहादुरले भन्नुभयो, ‘हामीसँग कुनै सम्बन्ध नै नभएको युद्धले भाईलाई लगिदियो । परिवार नै बिचल्ली हुन पुगेको छ । क्षतिपूर्ति आउँछ कि आउँदैन थाहा छैन ।’

मंसिर १० गते युक्रेनमा मारिनुभएका टीकापुर नगरपालिका–१ दुर्गानगर, कैलालीका ३६ वर्षीय भरत शाहको परिवारले पनि आधिकारिक खबर पाएको छैन । ७ वर्षे नेपाल प्रहरी छाडेर संयुक्त अरब इमिरेट्समा सामान्य सुरक्षा गार्डको काम गरिरहेका भरत तीन महिना अगाडि मात्रै रुसी सेनामा भर्ती हुनुभएको थियो । युद्धबाट बाँचेर फर्केका साथीले नै भरतको मृत्यु सम्बन्धमा परिवारलाई खबर दिएका थिए । त्यही खबरको आधारमा परिवारले कुशको शव बनाएर दौलतपुर घाटमा अन्तिम संस्कार गरे ।

‘दाईसँग तीन हप्तादेखि सम्पर्क थिएन । एक्कासी दाईको सहकर्मीबाट मृत्युको खबर आयो । शव आउने नआउनेसमेत टुंगो नभएपछि हामीले आफन्तसँग सल्लाह गरेर अन्तिम संस्कार गरेका हौं,’ भाई मंगल शाहले भन्नुभयो । भरतकी श्रीमती, चार वर्षका छोरा र तीन महिनाकी छोरी छन् । ‘रुसले त हामीलाई मृत्युको आधिकारिक खबर पनि दिँदैनरहेछ’, उहाँले भन्नुभयो, ‘सहकर्मीले दिएको सूचनाको आधारमा आफ्नो मान्छे छैन भनेर बस्नुपर्ने अवस्था आयो ।’

रुसले पछिल्ला घटनाहरुको औपचारिक जानकारी न नेपाल सरकारलाई दिन्छ । न परिवारलाई नै दिएको छ । मानव तस्करको सञ्जालको प्रयोग गरी नेपालको अनुमति नै नलिई नेपालीलाई आफ्नो सेनामा भर्ती गरेको रुसले रेडजोनमा खटिएका नेपालीको सर्न्दभमा कुनैपनि सूचना दिने गरेको छैन ।

सतातेल, खोटाङका ३४ वर्षिय क्षितिज बस्नेत कात्तिक दुई गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ् । चार वर्षदेखि दुवईमा सेक्युरिटी गार्ड रहेका क्षितिज भदौ २८ गते रुस पुग्नुभएको हाो । ‘मेरो श्रीमानसँग सम्पर्क टुटेको ६५ दिन बितिसकेको छ । उहाँको अवस्था पत्ता लगाउन धेरै मिहेनत गरिरहेको छु । परराष्ट्रलाई भने । दूतावासले सोधें । क्षितिजको साथीहरुसँग सोधखोज गरिरहेको छु । कसैबाट केही खबर आउँदैन । देखेको छु भनेर कसैले भन्दैन’, पत्नी अञ्जलीले भन्नुभयो, ‘युक्रेनको लुहान्स जानुअघि मलाई म्यासेज छाड्नु भएको थियो । कार्तिक २ गते बिहान ८ ः४७ मा म्यासेज पठाउनुभएको रहेछ । हामी एक–डेड महिना जंगलमा हुन्छौं भन्नु भएको थियो । उहाँले भन्नुभएको समय नै घर्किसक्यो ।’

अञ्जलीका अनुसार क्षितिजसँग गएका ७ जना नेपाली र दुई जना इजिप्सियन गरी ९ जनाको टोली कसैसँग सम्पर्कमा आएको छैन । ‘मसँग ८ वर्षको छोरा र चार वर्षकी छोरी छिन् । मेरो मन निकै आत्तिएको छ’, अञ्जलीको अपिल छ,‘उहाँलाई खोजिदिनुप¥यो । रुस–युक्रेनमा यस्तो खतरानाक युद्ध हुन्छ भन्ने हामीलाई थाहा थिएन । जसले घटना देखेको हुन्छ । त्यो हामीले भन्यो भने थाहा हुन्छ । नत्र थाहा हुँदैन भन्छ । यस्तो कुराले धेरै पिरोल्छ ।’

क्षितिजकै टोलीमा रहेका धनुषाका विमलकुमार गजमेर, रामकृष्ण अधिकारी र भीम बिक पनि हराइरहेका छन् । ‘मेरो भाईको ३० जनाको टोलीमा सामेल थियो । त्यहाँबाट ९ जनालाई अर्को स्थानमा पठाइएको रहेछ,’ विमलका दाई पवन गजमेरले भन्नुभयो, ‘भाईसँग मेरो अन्तिम संवाद असोजको २४ गते भएको थियो । त्यतिखेर भाईले आफू तालिममा हुने हुँदा ३ महिनासम्म अफलाइनमा हुने बताएको थियो ।’ रुसले कसैलाई पनि तीन महिनाको तालिम दिएको छैन । एक महिनाको तालिम दिएर युद्धक्षेत्रमा खटाइरहेको छ ।

‘अहिले मैले टिकटक मार्फत् मेरो भाइको साथीहरुसँग सम्पर्क बढाउने प्रयास गरिरहेको छु । मैले धेरै नेपाली पनि भेट्टाए । उनीहरुले मेरो भाईलाई चिन्दा पनि रहेछन् । उनीहरूले भाई जिउँदो छ कि छैन भनेर बताउन सकेका छैनन्’, उहाँले भन्नुभयोे, ‘न उनीहरुले मृत्यु भएको प्रमाण दिन सक्छन् । न सकुशल छ भन्न सक्छन् । यो मामिलामा रुसले आफूले भर्ना लिएको सेनाको परिवारको जिम्मेवारी लिनुपर्दथ्यो । रुसले आफ्ना सेनाको परिवारसँग गैरजिम्मेवार ढंगले प्रस्तुत भए । यसको मानसिक तनाव हामीले खेपिरहनुपरेको छ ।’

रुसी सेनामा रहेका नेपालीहरुकाअनुसार कम्तीमा ७ सय नेपालीलाई रुस–युक्रेन बोर्डरमा खटाइएको छ । यसरी रेडजोनमा कति नेपाली मारिए र कति घाइते भए भन्ने यकिन विवरण नेपाल सरकारसँग छैन । रेडजोनमा खटिएर सम्पर्कमा आएका जसले पनि आफ्ना अगाडी साथीहरु मारिएको विवरणहरु भने दिइरहेका छन् । रुसको विभिन्न अस्पतालमा घाइतेहरु उपचाररत छन् । परराष्ट्र मन्त्रालयले हालसम्म युद्धमा ७ जना नेपाली मारिएको पुष्टि गरिसकेको छ । परराष्ट्र मन्त्रालयले एक महिना अगाडि नै रुसी सेनामा रहेको विवरण दिन र नेपालीसँग गरिएको सम्झौतालाई भंग गरी नेपाल पठाइदिन रुस सरकारलाई आग्रह गरेको थियो । तर, रुसले अझै जवाफ दिएको छैन ।

प्रतिक्रिया