सिन्धुली– बुधबार दिउँसो मुलधारसहित मोफसलमा संचालित मिडियामा जिल्लाको अग्रणी शैक्षिक संस्था सिन्धुली बहुमुखी क्याम्पसको समाचार धमाधम देखिन थाल्यो । क्याम्पसका उपप्रध्यापकद्वय सन्तोष शर्मा र दिपेश बरालले पढाएको नबुझेको भन्दे विद्यार्थी आन्दोलित भएको समाचार एकपछि अर्को मिडियामा तारान्तर आयो । उक्त समाचारलाई भाईरल बनाउन क्याम्पसकै विद्यार्थी संगठनका नेताहरु अग्रसर थिए ।
सिन्धुली बहुमुखी क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत १५ जना विद्यार्थीहरूले उपप्राध्यापकहरूले पढाएको नबुझिएको भन्दै कक्षा बहिस्कार गरेका थिए । विद्यार्थीहरूले बिजनेस स्टाटिस्टिक्स र बिजनेस कम्युनिकेसन इंग्लिसको कक्षा बहिस्कार गरेका हुन् । उक्त विषय पढाउने प्राध्यापकहरू परिवर्तन गरी कक्षा अगाडि बढाउनुपर्ने मागसहित उनीहरुले निमित्त क्याम्पस प्रमुख उमेश कोइराला र व्यवस्थापन संकायका विभागीय प्रमुख कृष्ण प्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । तर, सो ज्ञापनपत्र निमित्त क्याम्पस प्रमुख र व्यवस्थापन संकायका विभागीय प्रमुखले बुझ्दा नबुझ्दै मिडियामा छताछुल्ल भयो । क्याम्पसलाई ध्यानाकर्षण गराउने भन्दापनि मिडियाबाजि गरेर शिक्षकको चरित्रहत्या गर्न खोजिएको एक विद्यार्थीले बताए । उनले भने,‘शिक्षकले राम्रो पढाएनन् भने क्याम्पसमा गुनासो पोख्ने हो । विद्यार्थी नेताले मिडियाबाजि गर्दा गलत मनसाय देखियो ।’
त्यसैगरि, रिक्त रहेको क्याम्पस प्रमुख पदमा आफूले इच्छाएको व्यक्तिलाई नियुक्ति गर्न विद्यार्थीलाई प्रयोग गरिएको श्रोतले बतायो । क्याम्पस प्रमुख सारदामणी खड्काले राजीनामा दिएसँगै क्याम्पस प्रमुख नियुक्तिकालागि राजनीतिक दल र क्याम्पस संचालक समितिले चलखेल शुरु गरेको श्रोतले बतायो । उपप्रध्यापक सन्तोष शर्मा क्याम्पस प्रमुख बन्ने दौडमा देखिएसँगै विवादमा तानिनुभएको श्रोत बताउँछ । श्रोतले भन्यो, ‘संचालक समितिले क्याम्पस प्रमुखमा नियुक्त गर्न खोजेको व्यक्ति अर्कै हुन् । शर्मालेपनि प्रमुख वा सहायकमा इच्छा गरेपछि ‘विद्यार्थी कार्ड’ प्रयोग गरि दौडबाट हटाउन खोजिएको हो ।’ शर्मा नेपाली कांग्रेस निकट मानिनुहुन्छ । शर्मालाई क्याम्पस प्रमुख वा सहायक बन्न नदिन भने नेपाली कांग्रेसकै नेता मैदानमा उत्रिएको श्रोतले भन्यो । यतिसम्म कि, स्वतन्त्र विद्यार्थी युनियनलाईनै प्रयोग गरेर उपप्रध्यापकद्वयको चरित्र हत्या गरिएको एक विद्यार्थीले बताए । शिक्षकले पढाएको नबुझेपछि क्याम्पस प्रशासनमा गएर छलफल गरि समाधान खोज्नुपर्ने ठाउँमा एकाएक मिडियामा खबर छाप्न दौडिने प्रवृत्तिले कसैको हित नगर्ने ती विद्यार्थी नेताले बताए । उनले भने, ‘तिललाई पहाड बनाइयो ।’
विद्यार्थीको पटक पटकको गुनासो आएपछि शिक्षकहरूले नैतिकताका आधारमा पनि कक्षा छोड्नुपर्ने स्वतन्त्र विद्यार्थी युनियनका सभापति कृष्ण लामिछानेको भनाइ छ । उक्त समस्या विगत लामो समय देखिएको लामिछानेले बताउनुभयो । विद्यार्थीको भविष्य कसैको जागिरसँग साट्न नपाइने उहाँको भनाई छ ।
यता, बिबिएस पहिलो वर्षमै अध्ययनरत निकेश गौतमले भने उपप्रध्यापकद्वयको पढाउने तरिका सन्तोषजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कक्षा १० मा पढ्दा शिक्षकले ब्ल्याक बोर्डमा लेख्दै पढाउनुहुन्थ्यो । अहिले स्नातकमा पढिरहदापनि शिक्षकले ब्ल्याक बोर्डमै लेख्दियोस् र सार्न पाउँ भन्नु ठिक होइन ।’ साथीहरुलाई लहिलहिमा लगाएर ज्ञापनपत्रमा हस्ताक्षर गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हस्ताक्षर गर्ने केहि साथिहरु लाजले क्याम्पसनै नआउने बताइरहेका छन् । एक/दुईजनाको सक्रियतामा उपप्रध्याकहरुको चरित्र हत्या गर्न खोजियो ।’ त्यस्तै, बहुमुखि क्याम्पसमा बिबिए अध्ययनरत विद्यार्थीले उपप्रध्यापक शर्मालाई खोट लगाउने कुनै ठाउँ नभएको बताएका छन् । साथै, उनीहरुले सत्यतथ्य छानबिन गर्नुपर्ने र कसैको चरित्र हत्या गर्ननहुने बताएका छन् । उपप्रध्यापक शर्मा विगत १३ वर्षदेखि शिक्षण पेशामा हुनुहुन्छ ।
उपप्रध्यापक शर्मा भने सुनियोजित ढंगबाट आफूमाथि प्रहार भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘विद्यार्थी नेता भए भन्दैमा शिक्षक भन्दा ठूलो हुदैँनन् । चित्त नबुझेको कुरा जोसँग चित्त बुझेन उसैलाई भन्ने हो ।’ विगत १३ वर्षदेखि बहुमुखि क्याम्पसमा पढाउँदा आफ्नो शिक्षण विधिप्रति प्रश्न नउठेको बताउदँै शर्माले भन्नुभयो, ‘कहिलेकाँही केहि बुझिदैँन । नबुझेको कुरा कक्षा कोठामै सोध्ने हो, मिडियामा ल्याउने होइन ।’
यता, अर्को उपप्रध्यापक दिपेश बराल भने विद्यार्थीहरु मंगलबारसम्म सकारात्मकनै देखियो बताउनुभयो । उहाँले भन्नुभयो, ‘तथ्यांक शास्त्रका बिद्यार्थीहरुलाई हिजोसम्म कक्षा लिँदा सकारात्मक नै हुनुहुन्थ्यो । मसँग अलिकति पनि गुनासो आएको थिएन । बिषयबस्तु सहज र सरल नै छ । सैद्धान्तिक प्रश्न पनि परिक्षाकेन्द्रित रुपमै लेखाएको थिए । गणितीय प्रश्न पनि विद्यार्थी केन्द्रित बिधीबाट उनीहरु आफैलाई सिकाएर समाधान गर्न लगाएको थिएं । आज एक्कासि यस्तो कुरा आउदा आस्चार्य लागेको छ ।’ उहाँले प्रशासनलाई बुझाएको पत्र मिडियामा जाने कुरा नै नैतिकताका हिसाबले शिक्षकको चरीत्र हत्या गर्ने, राजनीतिक हिसाबले आफ्नो कुत्सित मनशाय पूरा गर्ने र समग्र कलेजको बदनाम गराउन केही ब्यक्ति लागेको आरोप लगाउनुभयो ।