सिन्धुली– तीन तहको सरकारमध्य शक्तिशालि रहेको स्थानिय सरकारलाई सफल बनाउनमा प्रमुख प्रशासकिय अधिकृतको मुख्य भुमिका हुन्छ । एउटा सिंगो स्थानिय तहको प्रशासनिक जिम्मेवारी पाएका प्रशासकिय अधिकृतले चाहेमा उक्त क्षेत्रको समृद्धि टाढाको उपलब्धि होइन । फरक तरिकाले सोच्ने र काम गर्न सक्षम युवा वर्गले प्रशासनिक नेतृत्व हाँक्न पाए सुनमा सुगन्धनै हुन्छ । स्थानिय तहमा युवा वर्गको बढ्दो प्रवेशले सरकारी काम–कारबाही चुस्त र छरितो बनेको छ ।
नौँवटा स्थानिय तह रहेको सिन्धुलीको प्रशासनिक नेतृत्वमा अधिकांश प्रशासकिय अधिकृत युवानै छन् । संघीय मुलुकको सबैभन्दा तल्लो तहमा जनतासँग निकट रहेर काम गर्ने स्थानिय सरकारको प्रशासनिक जिम्मेवारी पाएका युवा प्रमुख प्रशासकिय अधिकृतको काम गर्ने शैलिप्रति नागरिक सन्तुष्ट देखिएका छन् । सरकारका अरू दुई तह संघ र प्रदेशभन्दा स्थानीय तहको जनतासँगको सामीप्यता र सन्नीकटता बढी हुँदा प्रमुख प्रशासकिय अधिकृतको कामकार्वाहीलाई नागरिकले नजिकबाट निहालिरहेका छन् । गलत प्रवृत्तिमा आँखा चिम्लिने र यथास्थितिवाद स्वीकार गर्नेभन्दा परिवर्तनका लागि प्रयास गर्ने युवा कर्मचारीले गर्दा जिल्लाको स्थानिय तह थप मजबुत बन्दै गएको छ । काममा प्रतिबद्ध उनीहरू सुशासनमा पनि अब्बल देखिएका छन् । उनीहरुको निजामति सेवामा प्रवेश र प्रशासनिक नेतृत्व त धेरैकालागि प्रेरणादायि र उदाहरणीय बनेको छ ।
उमेरले झण्डै तीन दशक पार गरिसक्नुभएका सिन्धुलीको सुनकोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिको निजामति यात्रा चाखलाग्दो छ । स्याङ्जाको वालिङ नगरपालिकामा जन्मनु भएका दर्जि एसएलसि उत्तिर्ण गरेपछि रोजगारीको शिलशिलामा भारत हानिनुभयो । एक वर्ष भारतमा बसेर दुबई पुग्नुभएका दर्जिले जिवनको दुई वर्ष उतै बिताउनुभयो । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै वैदेशिक रोजागारीबाट फर्केपछि आफू पुनः पढाईमा समर्पित भएको दर्जि बताउनुहुन्छ । स्याङ्जाको ग्रामीण विद्यालयबाट कक्षा १२ उतिर्ण गरेपछि उहाँ निजामति सेवामा प्रवेश गर्नुभएको थियो । विदेशबाट फर्किएर पढाईसँगै पसल संचालन गरेको उहाँले स्मरण गर्नुभयो । विगत स्मरण गर्दै उहाँले भन्नुभयो, ‘कक्षा १२ अध्ययन गर्दैगर्दा विद्यालयमा शिक्षक भएर पनि काम गरे ।’

न्यायिक सेवामा कार्यरत हुदैँ निजामति सेवामा प्रवेश गर्नुभएको दर्जिले २३ वर्षको उमेरमा नायब सुब्बामा नाम निकाल्नुभएको थियो । पहिलो प्रयासमै २०६७ सालमा नायब सुब्बामा नाम निकाल्न सफल भएको दर्जि बताउनुहुन्छ । उहाँले पुनरावेदन अदालत पोखरामा जिम्मेवारी सम्हाल्दै स्नातक पार लगाउनुभयो र दोश्रो प्रयासमा २०७२ सालमा निजामति सेवामा प्रवेश गर्नुभयो । शाखा अधिकृतको जिम्मेवारी पाएपछि उहाँले विभिन्न ठाउँमा कार्यरत हुदैँ जिल्लाको सुनकोशी गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हालि रहनुभएको छ । वैदेशिक रोजगारी र सरकारी जागिरसम्मको यात्राका बारेमा उहाँ भन्नुहुन्छ, ‘गाउँमा पढ्नुपर्छ भन्ने माहोल थिएन । उमेर बढ्दै गएपछि राज्यको सेवा गर्ने इच्छा पलायो । दुखसुख नेपाल सरकारको कर्मचारी भइयो ।’ आगामी दिनमा उपसचिव हुदैँ पद बढोत्तरी हुनेप्रति आशावादि रहेको दर्जिले बताउनुभयो ।
परम्परागत सोच, शैली र व्यवहारबाट ग्रस्त संयन्त्रका रूपमा चित्रण गरिने निजामती प्रशासनमा युवा वर्गको प्रवेशले गतिशीलता थपिरहेको सुनकोशी गाउँपालिकाको उपाध्यक्ष कपिल कुमार कोइराला बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘प्रमुख प्रसाकिय अधिकृत अर्जुन दर्जि नेतृत्व तहमा पुगेका युवा कर्मचारीले आफ्नो कार्यसम्पादनबाट आफूलाई चिनाउन यथेष्ट मेहनत गरिरहेको एउटा उदाहरण हो ।’
जिल्लाको सेवा गर्ने हुटहुटि: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले जिवनको दुई दशक पार गरिसक्नुभएको छ । जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ८ स्थित डाँडाटोलमा जन्मनुभएका प्याकुरेलको विद्यार्थी जिवनदेखिनै राज्यको सेवा गर्ने सपना थियो । निजामति सेवामा एकपछि अर्को सफलताको सिँढि चढ्दै २१ वर्षको उमेरमा प्याकुरेलले पहिलो प्रयासमै खरिदारमा नाम निकाल्नुभएको थियो । त्यसअघि नेपाल एयरलाईन्सको चौथो तह अन्तर्गत लेखा सहायकका रुपमा दुई महिना काम गरेको प्याकुरेलले बताउनुभयो । निजामति सेवामा प्रवेश गर्दैगर्दा उहाँले पहिलो पटक सप्तरी जिल्ला अदालतमा लेखापाल भएर काम गरेको स्मरण गर्नुभयो । तीन वर्ष सप्तरी जिल्ला अदालतमा काम गरेपछि प्याकुरेलले लेखा अधिकृतमा छलांग मार्नुभयो । स्थानियतह अन्तर्गत छैठौँ तहको लेखा अधिकृतमा नाम निकालेपछि जिल्लाकै फिक्कल गाउँपालिकामा साढे दुई वर्ष काम गरेको प्याकुरेल बताउनुहुन्छ ।

प्याकुरेलले निजामति यात्रामा पछाडि फर्केर हेर्नुपरेन । खरिदारबाट शुरु गरेको निजामतिको यात्रा अहिले शाखा अधिकृतमा पुगेको प्याकुरेल बताउनुहुन्छ । हरिहरपुरगढी गाउँपालिका आउनुअघि प्याकुरेलले बाजुराको बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । देशको सेवा गर्ने अवसर मिल्दा प्याकुरेल सन्तुष्ट हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘आफ्नो जिल्लाको सेवा गर्न पाउनु भाग्य हो । सिन्धुलीको दुईवटा स्थानिय तहमा काम गरिसकेको छु । अन्य पालिकामा पनि काम गर्ने अवसर प्राप्त हुनेछ भन्नेमा आशावादि छु ।’
हरिहरपुरगढीको प्याकुरेल जस्ता युवा प्रशासक रहदा काम गर्न उर्जा थपिएको गाउँपालिकाको अध्यक्ष बज्रध्वज वाइवा बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘जनता र सहकर्मीका राय तथा विचार, सञ्चारमाध्यमले ध्यानाकर्षण गराएका विषय, जनताका पिर र प्रतिक्रिया, अनि विज्ञका सल्लाह आत्मसात् गर्ने प्रशासनिक नेतृत्वले गर्दा काम गर्न सहज भएको छ ।’
जिल्लाको सुनकोशी र हरिहरपुरगढी गाउँपालिका जस्तै मरिण गाउँपालिकाको प्रशासनिक नेतृत्वपनि युवाले नै सम्हालेका छन् । युवा उमेरका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जिको प्रशासनिक यात्रापनि उत्तिकै प्रेरणादायि छ । भनिन्छ जीवन नियममा कम र संयोगमा बढी चल्दछ । यदी नियममा चल्दथ्यो त दर्जि अहिले कुनै विद्यालयको शिक्षकको भूमिकामा हुनुहुन्थियो । तर, उहाँ निजामति सेवामा प्रवेश गरेर देशको सेवा गरिरहनुभएको छ । प्रशासकिय अधिकृत दर्जिको कामकार्वाहीप्रति मरिण गाउँपालिकामा कार्यरत कर्मचारीदेखि नागरिक सन्तुष्ट रहेको गाउँपालिकाको अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ प्रमुख प्रशासकिय अधिकृत दर्जिको काम गर्ने शैलिले कर्मचारीतन्त्रका सकारात्मक परिवर्तनहरू जनताले अनुभूत गर्ने गरी सेवाप्रवाहमा प्रतिविम्बित भएको छ ।’

त्यसैगरि, जिल्लाको फिक्कल गाउँपालिकाको प्रशासकिय नेतृत्व हाँकिरहनुभएका डम्बरबहादुर रजनमगरको नवीन सोच, कार्यप्रणाली र सार्वजनिक सेवा सुधारप्रति स्थानिय खुशी देखिएका छन् । झण्डै तीन दशकअघि जन्मनुभएका मगरले विगत केहि महिनादेखि फिक्कलको प्रशासकिय नेतृत्व गरिरहनुभएको छ ।
यता, तीनपाटन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमबहादुर बहादुर बस्नेतपनि युवानै हुनुहुन्छ ।

यता, तीनपाटन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पदमबहादुर बहादुर बस्नेतपनि युवानै हुनुहुन्छ ।