बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा अनलाईन ठगको तिक्डमः अपुतालिको धन प्रलोभन देखि अश्लिल भिडियो सार्वजनिक गर्ने धम्कि

शुक्रवार , मंसिर २२, २०८०

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ५ का बिनोद दाहाललाई फेसबुकमा बुधबार अपुतालिको धन प्राप्ति गर्ने प्रलोभनसहितको मेसेज आयो । इस्तानबुलको एक बैंकमा कार्यरत बैंकरले एड्रियान दाहालको मृत्यु भएको र उनले बैंकमा निक्षेप गरेको पैसाको हकदार कोहि नभएको भन्दै सिन्धुलीका ५३ वर्षिय दाहाललाई सन्देश पठाए । इस्तानबुलमा सुनको व्यवसाय गर्दै आएका अविवाहित एड्रियानको मृत्यु सन् २०२० अप्रिल ३० मा भएको र उनको आफन्त नभेटिएको भन्दै दाहाललाई प्रलोभनमा पार्न खोजियो । मेसेजमा उल्लेख थियो, ‘इस्तानबुल बैंकमा एड्रियान दाहालको नाममा ९५ लाख अमेरिकी डलर छ । उनको भूकम्पमा मृत्यु भइसकेको छ । हकवाला कोही नभएको हुँदा तपाईँले नाता प्रमाणित गरेर लिन सक्नुहुन्छ ।’

एड्रियानको बैंक खाता अधिकृत आफूनै भएकाले उनको मृत्यु भएको बैंकलाई समेत जानकारी नरहेको मेसेजमा उल्लेख थियो । दाहाललाई उत्तराधिकारीको रुपमा प्रस्तुत गरेर एड्रियानको खातामा रहेको पैसा आफू र उनीबिच बाँडफाँट गर्ने वैध प्रक्रिया भएको भन्दै अनलाईन ठगले उक्साउदैँ थिए । दाहाल प्रलोभनमा परेनन् । तर, सोहि प्रकारको घट्नामा भने नेपाल सरकारको पूर्वकर्मचारीसमेत रहनुभएका काठमाडौँका ६९ वर्षीय तारा पुरीले ९५ लाख रुपैँया गुमाउनुभएको थियो । ‘अपुतालीको धन’ प्राप्त गर्ने चक्करमा लाग्दा पुरीले ९५ लाख रुपैयाँ गुमाउनुभएको हो । टर्कीको इस्तानबुल बैंकमा रहेको भनिएको ९५ लाख अमेरिकी डलर पाउने आशामा पुरि ठगिनुभएको हो ।

कसरी फसे पुरि ?: पुरीलाई टर्कीको इस्तानबुलस्थित इस्तानबुल बैंकको नामबाट एउटा इमेल आयो । इमेलमा उल्लेख थियो, ‘इस्तानबुल बैंकमा एड्रिन पुरीको नाममा ९५ लाख अमेरिकी डलर छ । उनको केही महिनाअघि गएको भूकम्पमा मृत्यु भइसकेको छ । हकवाला कोही नभएको हुँदा तपाईंले नाता प्रमाणित गरेर लिन सक्नुहुन्छ ।’ इन्जिनियर पुरीको मनमा लोभ पलायो । मृतक पुरी नै भएको हुँदा नाता प्रमाणित गर्न सकिने आत्मविश्वास उहाँमा जाग्यो । उहाँले आवश्यक प्रक्रिया बुझ्न भन्दै तुरुन्तै बैंकलाई इमेल रिप्लाई गर्नुभयो । बैंकले पुरीसँग नागरिकता, पासपोर्टदेखि आवश्यक सबै कागजात माग्यो । पुरीले सबै कागजात स्क्यान गरेर इमेल गर्नुभयो ।

त्यसपछि आवश्यक कानुनी प्रक्रिया मिलाउन भन्दै उहाँलाई तुरुन्तै इस्तानबुल आउन अर्को इमेल आयो । तर, उहाँ तुरुन्तै इस्तानबुल जाने अवस्थामा हुनुहुन्थिएन  । उहाँले आफ्नो परिस्थितिबारे इमेलमार्फत बैंकलाई जानकारी गराउनुभयो । बैंकबाट पुनः अर्को इमेल आयो । इमेलमा लेखिएको थियो, ‘आउन नसक्ने भए कानुनी प्रक्रिया मिलाउन तपाईँले अधिवक्ता ‘हायर’ गर्नुपर्ने हुन्छ । यसका लागि तपाईँले शुल्क बुझाउनुपर्ने हुन्छ ।’ पुरी सहमत हुनुभयो । रकम पठाउन बैंकले नेपाली बैंककै खाता नम्बर उपलब्ध गराएको थियो । पुरीले सोही खातामा रकम पठाउन थाल्नुभयो । बैंकले नयाँ–नयाँ कानुनी अड्चन देखाउँदै गयो । त्यसका लागि थप शुल्क लाग्ने भन्दै पुरीसँग रकम माग्दै गयो । लोभिएका पुरी रकम चुकाउँदै जानुभयो ।

९५ लाख रुपैयाँ भुक्तानी गरिसकेपछि उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टेलिफोन आयो । तुरुन्तै कार्यालय आउन भनियो । उहाँ दौडिएर अपराध अनुसन्धान कार्यालय पुग्नुभयोे । जसको नाममा रहेको बैंक खातामा उनले रकम पठाउँदै आउनुभएको थियो, सोही व्यक्ति अनलाइन ठगीमा पक्राउ परेका रहेछन् । यो सुनेर पुरी छाँगाबाट खसेझैँ हुनुभयो । पुरिले आफू ठगिएको भेउ बल्ल थाहा पाउनुभयो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न महावीर शाह, कमल चौधरी, पुरुषोत्तम कार्की र लक्ष्मण नेपालीलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार उनीहरूले सोही तरिका अपनाएर विभिन्न व्यक्तिबाट आठ करोड ५७ लाख रुपैयाँभन्दा धेरै रकम ठगेको खुलेको छ । घटनाका ‘मास्टर माइन्ड’ पाकिस्तानी नागरिक आदिल हुन् । उनीसहित अन्य छजना फरार रहेको प्रहरीले जनाएको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोेमेन्द्रसिंह राठौरले भन्नुभयो, ‘मृतकको नाममा रहेको रकम उपलब्ध गराउने भन्दै एक पीडितबाट ९५ लाखभन्दा धेरै रकम ठगी भएको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन् । केही फरार छन् । उनीहरूले सोही तरिका अपनाएर विभिन्न व्यक्तिबाट आठ करोड ५७ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको देखिन्छ ।’

अश्लिल भिडियो सार्वजनिक गर्ने धम्कि: सिन्धुलीको फिक्कल गाउँपालिकाको एक युवालाई ह्वाट्सएपमा भारतकी महिलाले मेसेज गरिन् । निकटता बढ्दै गएपछि ती महिलाले अश्लिल हर्कत गर्न थालिन् । आफ्ना गोप्य अंग देखाउदैँ ती महिलाले युवालाई समेत उत्तेजित बनाइन् । ती महिलाले आफ्नो गोप्य अंग देखाउन थालेपछि युवाले पनि उनलाई साथ दिए । कुरा हुदैँ गएपछि एक्कासी युवालाई एउटा भिडियो मेसेज आयो । सोहि ह्वाट्सएप नम्बरबाट युवतीसँग गरेको भिडियो च्याट सार्वजनिक गर्ने धम्कीसहितको म्यासेज आएपछि युवा झस्किए । एक घण्टाको समयभित्र १५ हजार रुपैँया बैंक खातामा नपठाए फेसबुक लगायत सामाजिक संजालमा ती युवाका साथीहरुलाई भिडियो फर्वड गरिदिने धम्कि आएपछि ती युवा छाँगाबाट खसेझैँ भए । ती युवाले रकम नपठाएपछि फेसबुकमा रहेका उनका साथीहरुर्ला सो भिडियो फरवड गरिएको बुझिएको छ ।

पछिल्लो समय सिन्धुलीका सामाजिक संजाल प्रयोगकर्तालाई अनलाइन ठगले विभिन्न तिक्डम गरेर पैसा ठग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालका अनुसार अनलाइन ठगिबाट बच्न स्वयं प्रयोगकर्ता सचेत हुन जरुरी छ । उहाँले भन्नुभयो,‘अपिरिचत व्यक्तिले जस्तो सुकै प्रलोभन देखाएपनि आफू संयम हुनुपर्दछ । आफ्नो व्यक्तितगत विवरण कसैसँग शेयर गर्नुहुदैँन ।’

त्यस्तै, डिएसपि दाहालका अनुसार ठगीका घटनाहरूबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेश्रो व्यक्तिलाई नभन्ने हो । प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफू अनुकूल प्रयोग गर्न सक्छन् । ‘जान्ने व्यक्तिले त आफ्नो मोबाइलबाट समेत ओटीपी प्रयोग गरिदिन सक्छ,’ उहाँले भन्नुभयो, ‘पैसासँग जोडिएको कारोबार अरूसँग संवाद गर्नुहुँदैन ।’ ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उहाँ बताउनुहुन्छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया