बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

बागमती कमिटीको कार्यविभाजनः सिन्धुलीमा कस्ले के जिम्मेवारी पाए ?

शुक्रवार , मंसिर २२, २०८०

सिन्धुली– नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रथम अधिवेशनबाट निर्वाचित कमिटीको कार्य विभाजन गरेको छ । प्रदेश कमिटी अध्यक्ष कैलाश ढुगेलले अन्तर पार्टी निर्देशनमार्फत कार्य विभाजनको सूची जिल्लामा पठाउनुभएको हो ।

प्रदेश कमिटी पदाधिकारीमध्ये अध्यक्ष ढुंगेलले जनसंगठन समन्वय संयन्त्रको संयोजकसहित सबै पार्टी कामको संयोजन गर्ने उल्लेख छ । त्यस्तै, उपाध्यक्ष दावादोर्जे लामा उद्योग वाणिज्य आपूर्ति विभाग प्रमुख, सचिव नवराज सिलवाल संगठन विभाग प्रमुख, उपसचिव प्रेमबहादुर महर्जन वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख र उपसचिव भक्तकुमारी लामाले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैबीच, सिन्धुलीबाट नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्यमा निर्वाचित १५ जना नेताहरुले फरक–फरक जिम्मेवारी पाएका छन् । बागमती प्रदेश कमिटिको प्रथम अधिवेशनको बैठकले जिल्लाका सबै पालिका र प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका इन्चार्जहरू समेत तोकेको छ । जसअन्तर्गत, संघीय निर्वाचन क्षेत्र नम्बर १ मा प्रदिप कटुवाल र २ मा कौशल कोइरालाले इन्चार्जको जिम्मेवारी पाएका छन् । कटुवाललाई फिक्कल गाउँपालिका र कोइरालालाई सुनकोशी गाउँपालिकाको इन्चार्जको समेत जिम्मेवारी दिइएको छ ।

त्यस्तै, प्रदेशतर्फको इन्चार्जमा प्रदेश नम्बर २ ‘क’ मा गोविन्दलाल माझी र प्रदेश नम्बर १ ‘क’ मा शान्तीमान कार्की चयन भएका छन् । यता, पालिकातर्फको इन्चार्जमा कमलामाई नगरपालिकाको वडा नम्बर १ देखि ३ नम्बर वडाको जिम्मेवारी रश्मिला देवकोटाले पाउनुभएको छ । त्यस्तै, ४ देखि ७ नम्बर वडामा रमा अधिकारी शर्मा, ७ देखि १० नम्बर वडामा मञ्जु देवकोटा र ११ देखि १४ नम्बर वडामा भरतकुमार पोखरेललाई इन्चार्जमा नियुक्ति गरिएको छ ।

त्यसैगरि, दुधौली नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्मको इन्चार्जमा डोरकुमारी बोगटी (कार्की) र ८ देखि १४ नम्बर वडासम्मको इन्चार्जमा सुकमाया तामाङलाई चयन गरिएको छ । त्यस्तै, गाउँपालिकातर्फको इन्चार्जमा तीनपाटन गाउँपालिकाको जिममेवारी प्रलाद कुमार पोखरेलले पाएका छन् भने गोलन्जोर गाउँपालिकामा निर्मल कुमार रम्तेललाई चयन गरिएको छ । मरिण गाउँपालिका र राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा पुष्पराज श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । बिनोद कुमार खड्कालाई घ्याङलेकको जिम्मेवारी दिइएको छ भने हिरा लामा हरिहरपुरगढी गाउँपालिकाको इन्चार्ज नियुक्त हुनुभएको छ ।

प्रस्तावित कार्यविभाजन ३ महिना कामको परीक्षणपछि हेरफेर हुनसक्ने र कसैको गुनासो वा असन्तुष्टि भए त्यसलाई समेत समेटेर लगिने अध्यक्ष ढुंगेलले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया