सिन्धुली– सिन्धुलीमा ठेलागाडा चोर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाको कमलामाई नगरपालिका ६ स्थित धुराबजारमा सुनिता घिसिङको निर्माणाधिन घरबाट सामान चोर्ने २७ वर्षिय युवालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोे हो ।
जिल्लाको कमलामाई नगरपालिका ५ चिसापानीका कृष्ण बहादुर थामीले एउटा ठेलागाडा, पाचवटा साबेल, पाच बोरा सिमेन्ट र २० वटा फलामको टेका चोरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले बताउनुभयो । थामीले सामान चोरेपछि धुराबजार सिरानमा रहेको पन्नालाल कुमारको कवाडी पसलमा विक्रि गरेको भन्दै सिन्धुली प्रहरीमा उजुरि परेको थियो । २० वर्षिय कवाडी पसल संचालक भारतीय नागरिक कुमारलाईपनि प्रहरीले नियन्त्रणमा लिएको छ । सामान खोजतलास गर्दा कुमारको कवाडी पसलबाट चारवटा फलामको टेका समेत फेला परेकोले उक्त सामान बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिईएको डिएसपि दाहालले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको डिएसपि दाहालले जानकारी दिनुभयो ।