सिन्धुली– बिहिबार विपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका– ११ डालाबेँसीस्थित बिपी राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र.०२–०२४ प ४०९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टँदा सोही दिशाबाट आउँदै गरेको बा.४ ख ७५१८ नम्बरको बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा मोटरसाइकलचालक काठमाडौँ महानगरपालिका–११ का ६१ वर्षीय ज्ञानराज गिरी र पछाडि सवार उहाँकी श्रीमती ६१ वर्षीया बिन्दा गिरी घाइते हुनुभएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले दुवैजना घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाएको थियो ।
घाइते बिन्दा गिरीको उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलचालक ज्ञानराज गिरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।