सिन्धुली– देउसी भैलोबाट संकलन गरिएको पैसा सिन्धुलीका युवाहरुले सामाजिक कार्य खर्च गरेका छन् । जिल्लाको कमलामाई नगरपालिका ७ स्थित माझिटारका युवाहरुले तिहारका बेला देउसी भैलोबाट संकलित रकम विरामीलाई आर्थिक सहयोग गरेको हो ।
कमलामाई नगरपालिका ७ की ३८ वर्षिय श्याम बहादुर माझीको उपचारको लागि राजन घिसिङको नेतृत्वमा घरघरमै पुगेर देउसी भैलोबाट संकलन गरिएको रकम हस्तान्तरण गरेको हो । माझीटारका युवाले संकलन गरेको एक लाख ५३ हजार छ सय ६५ रुपैयाँ दुवै मृगौला फेल भएका माझीको परिवारलाई हस्तान्तरण गरिएको सुद्रिस लामाले बताउनुभयो । विगत एक वर्षदेखि दुवै मृगौला फेल भई माझी काठमाडौँमा उपचाररत हुनुहुन्छ । उहाँको आर्थिक अवस्था कमजोर थप पैसा जुटाउन माझीटाकार युवाहरु सक्रिय रहेको लामाले बताउनुभयो ।
देउसी भैलो सांस्कृतिक मौलिक परम्परालाई जोगाउनका लागि खेलिए पनि माझीटारका युवाहरुले विगतदेखि नै सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको लामाले बताउनुभयो ।
त्यसैगरि, दुधौली नगरपालिकाको उर्बन डान्स स्टुडियोले देउसी भैलोमा संकलित पैसा अनाथ आश्रम र बिरामीलाई सहयोग गरेको छ । वडा नम्बर १० स्थित कमलाखोँच बालगृहमा रहेका बालबालिकालाई १० थान न्यानो कपडा वितरण गरिएको हो । त्यस्तै, आर्थिक अवस्था कमजोर भएका बिराीमी दुधौली १३ कि लिला माया सुनुवार र फिक्कल गाउँपालिका वडा नम्बर ६ कि मनमाया सुनुवारलाई ११ हजार १ सय ९८ रुपैँया सहयोग गरिएको स्टुडियोले बतायो ।