सिन्धुली, – लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सिन्धुलीमा शुरु भएको छ । ‘ लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ प्रभातफेरीको आयोजना गरेर अभियान शुरु भएको हो ।
कमलामाई नगरपालिकाबाट निकालिएको प्रभातफेरी स्टलबजार, १ नम्बर बजार, २ नम्बर बजार हुदै पुनः नगरपालिका अगाडी लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले लैंगिक हिंसाको न्यूनिकरणको लागि १६ दिने अभियानभर मात्रै नभई बर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक संरचनाका कारणले महिला माथि हिंसा भइरहेकाले यसको अन्त्यका लागि पुरुष पनि उत्तिकै जिम्मेबार हुनुपर्ने बताउनु भयो ।

उहाँले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न कमलामाई नगरपालिका लागि परेको बताउनुभयो । “अहिले महिलामात्र होईन, पुरुषपनि हिंसामा पर्ने गरेका छन” उहाँले भन्नुभयो, “१६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ ।”
१६ दिनको अभियानले हिंसा रोक्न प्रभावकारी भूमिका खेल्ने भन्दै हिंसामा पर्नेले खुलेर हिंसा विरुद्ध लड्न सकेमा लैंगिक हिंसामा कमी आउने उहाँले बताउनु भयो ।
कमलामाई नगरपालिकाका उपमेयर मन्जु देवकोटाले लैंगिक हिंसा कम गर्न लैंगिक निति बनाएको बताउनुभयो । उहाँले लैंगिक निति कार्यान्वयन गर्न सबै सरोकारवाला पक्षको ऐक्यबद्धता हुनुपर्ने बताउनुभयो । महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न नसकिएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले लैंगिक हिंसा कम गर्न १६ दिने अभियानले मात्रै नपुग्ने भएकाले घर, गाउँमा सचेतना र शसक्तिकरणको माध्यमबाट प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
प्रभातफेरी कार्यक्रममा जनप्रतिनिधिहरु, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, महिला राजनितिककर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, विभिन्न गैरसरकारी संघसंस्थाहरुका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ । सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो।