बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे, कति लाग्छ शुल्क?

मंगलवार , मंसिर ५, २०८०

सिन्धुली– आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सुरू गरिएको सिन्धुली प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । जिल्लाको कमलामाई नगरपालिका ६ मा रहेको प्रयास होटलले संचालनमा ल्याएको प्याराग्लाइडिङमा साढे तीन महिनाको अवधिमा झण्डै चार सयजना पर्यटकले प्याराग्लाइडिङ गरिसकेको कम्पनीका सञ्चालक नेत्रजंग थापाले बताउनुभयो । गत साउन २२ गतेदेखि सिन्धुलीमा प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । प्याराग्लाइडिङको व्यवसायिक उडान सुरू भएसँगै सिन्धुलीसहित छिमेकि जिल्ला महोत्तरी, धनुषा, सर्लाही, उदयपुर काठमाडौँ, धरान लगायत भारतबाट पर्यटकहरू शाहसिक पर्यटनमा आकर्षित भएका हुन् । कमलामाइ नगरपालिका–४ च्याउकोटमा रहेको शिद्धबाबा मन्दिरबाट एक सय मिटर पूर्वतर्फको च्याउकोट डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुन्छ । समुन्द्री सतहबाट ९ सय ८० मिटरमा रहेको च्याउकोट डाँडाबाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ ।

अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुद्र सतहबाट प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटर उचाइ रहेको जसेदमार, रातमाटा र खुलामञ्चमा अवतरण हुने बताउनुहुन्छ प्रशिक्षक पाइलट विक्रम सुनुवार । प्याराग्लाइडिङ उडानका क्रममा शिद्धबाबा मन्दिरको एरियल भ्युका साथै सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र मरिण गाउँपालिकाको भूभागको अवलोकन गर्न सकिन्छ । रामेछाप, बर्दिबास, जनकपुरका भूभाग समेत देख्न पाइने उडानबाट फिक्कल र गोलन्जोरको भ्युटावरको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो गणेश हिमाल पर्यटकहरूलाई मोहित पार्छ । उहाँले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने प्रशिक्षक चालक सुनुवारले बताउनुभयो ।  उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको पर्यटकले बताएका छन् । यता, संचालक नेत्रजंग थापाले भन्नुभयो, ‘एकजना प्रशिक्षक र अन्य दुईजना व्यवसायिक पाईलट हुनुहुन्छ । दुई वर्ष पढेर अनुमति लिनुभएका पाईलटहरुको १० वर्षको उडान अनुभव रहेको छ ।’ उडानका लागि अहिले ३ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि उहाँले बताउनुभयो । एकैपटक पाँचजनालाई उडाउन मिल्नेगरि अनुमति लिएको उहाँ बताउनुहुन्छ ।

उडान गर्नेहरूका लागि पिकअपको लागि कमलामाई नगरपालिका ६ स्थित रातमाटामा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने संचालक थापाकोे भनाइ छ । एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताए । एक दशकदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताउनुभयो । सिन्धुलीका स्थानियलाई फोटो भिडियोसहित अहिले पाच हजार ५ सय शुल्क रहेको छ । त्यसैगरि, अन्य जिल्लाका पर्यटकालागि ६ हजार पाँच सय रूपैयाँ लाग्ने उहाँले बताउनुभयो । त्यस्तै, पाचजनाको शुल्क तिरेमा एकजनालाई निशुल्क उडान गर्दै आएको संचालक थापाले बताउनुभयो । सोहि शुल्कमा प्याराग्लाइडिङकोलागि उडानभर्ने ठाउँसम्म र अवतरण गर्ने ठाउँबाट होटलसम्म ल्याउने व्यवस्था रहेको संस्थापक थापाले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारनै पाईलट र यात्रुको २० हजार डलरको बिमा हुने थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्मको लगानी दुई करोड भन्दा बढी रहेको छ ।

स्थानिय सरकारले पर्यटन प्रबद्र्धनकालागि थप गृहकार्य गर्नुपर्ने संचालक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिद्धबाबा मन्दिर रहेकोले च्याउकोट डाँडा धामिर्क स्थलपनि हो । सो ठाउँमा भ्युटावरपनि छ । सडकको स्तरोन्नति गर्नतर्फ स्थानिय सरकारले पहल गर्नुपर्छ ।’ साथै, उक्त ठाउँ पर्यटकिय गन्तव्य भएकाले पानी र सडकको व्यवस्थापनमा स्थानिय तहले चासो दिनुपर्ने थापा बताउनुहुन्छ ।

यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरू भने सिन्धुली पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । प्याराग्लाइडिङ गर्न आउनुभएका कमलामाई नगरपालिका ४ का अनिल थापाले च्याउकोटबाट प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आकाशमा चिलजसरी उठ्न मज्जा लाग्यो । सिन्धुली पर्यटकका लागि राम्रो छ । प्रयास होटलले आन्तरिक र बाह्य पर्यटक प्रबद्र्धनकालागि गरेको प्रयास तारिफयोग्य छ । ’

त्यस्तै प्याराग्लाइडिङ गर्न च्याउकोट पुग्नुभएका बर्दिबास नगरपालिकाका मनिस बस्नेतले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाउनुभयो । उहाँले स्थानिय सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया