सिन्धुली– आइतबार सिन्धुलीको गोलन्जोर गाउँपालिकामा दुर्घटना भएको कारमा नेपाली फिल्मका निर्माता किरण नेपाली सवार रहेको खुलेको छ । काठमाडौँबाट खोटाङतर्फ आउदैँ गरेको निर्माता नेपाली सवार बा.प्र.०१–०२७ च ३७३४ नम्बरको कार गोलन्जोर गाउँपालिका वडा नमबर ३ स्थित सिम्ले नजिक मध्य पहाडी लोकमार्गबाट १२ मिटर तल रुखको बुटामा अल्झिएको थियो । ‘पोइ पर्यो काले’, ‘२ नम्बरी’ र ‘हात्तीछाप’ फिल्मका निर्माता नेपाली गम्भिर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उहाँलाई काठमाडौँको ट्रमा सेन्टरमा उपचारकालागि लगिएको थियो । सोमबार सामाजिक संजाल फेसबुकमा एक स्ट्याट्स लेख्दै नेपालीले आफू घर फर्किसकेको बताउनुभएको छ ।
बाटोमा भएको ढुंगा छल्न खोज्दा गाडी भीरबाट खसेको निर्देशक राजु गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘किरणजी सवार कारले ढुंगा छल्न खोज्दा भीरबाट खसेको थियो । गाडी त पूरै कच्याककुचुक नै परेछ । उहाँ भाग्यले बाँच्नुभयो ।’
निर्माता नेपालीका अनुसार पिच गर्दै गरेको बाटोमा ढुंगा छल्न खोज्दा कार सडकबाट तल झरेको हो । उहाँ सवार कारलाई उहाँकै साथी राजु थापामगरले चलाउनुभएको थियो । थापालाई भने सामान्य चोटपटक लागेको छ । निर्माता नेपाली पछिल्लो समय आफैँ नयाँ फिल्म ‘सोली डोली’ निर्देशनको तयारीमा हुनुहुन्छ । उहाँले निर्माण गरेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।