सिन्धुली– सिन्धुली कारागारमा कैद भुक्तान गरिरहेका एक कैदिबन्दिको मृत्यु भएको छ ।
सवारी ज्यान मुद्धामा गत असोज १७ गतेदेखि कैद भुक्तान गरिरहेका सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १० का ३० वर्षिय बिमल थापा मगरको मृत्यु भएको कारागार प्रशासनले जानकारी दिएको छ । सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डिएसपी) चिरञ्जीवी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहिबार (आज) बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलेको छैन । कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेको डिएसपी दाहालले जानकारी दिनुभयो । विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने डिएसपी दाहालले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।
गत भदौ २२ गते जिल्लाको दुधौली नगरपालिा १० स्थित रातमाटाको अरुणठाकुर ग्रामिण सडक खण्डमा कमलामाई बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री समर बहादुर तामाङको मृत्यु भएको थियो । उक्त बसका चालक थापा रहेका थिए । सोहि मुद्धामा जिल्ला अदालत सिन्धुलीले मगरविरुद्ध ३० वर्षको कैद सजायको फैसला गरेको थियो । आफू बिदामा रहेकोले कार्यालय पुगेपछि विस्तृत जानकारी बताउने सिन्धुली कारागारका निमित्त प्रमुख कारागार प्रशासक मात्रिका पहाडीले बताउनुभयो । यसअघि दशैँको समयमा पनि सिन्धुली कारागारका एक कैदिबन्दिको मृत्यु भएको थियो । तिनपाटन गाउँपालिका घर भएका एक वृद्धको मृत्यु भएको श्रोतले बतायो ।
यता, मृतकको आफन्त र स्थानियले सडक अबरुद्ध गरेका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली ९ लखिमामा आफन्त र स्थानियले सडकमा बसेर राजमार्ग बन्द गरेका छन् । आन्दोलनरत आफन्तले मृतक मगरलाई कुनैपनि रोग नलागेकोले मृत्युमा शंका उब्जिएको बताएका छन् । उनीहरुले कारागार प्रशासनको गैरजिम्मेवारीपनले मगरको मृत्यु भएको भन्दै सडक अवरुद्ध गरेका हुन् । आन्दोलनरत क्षेत्रमा दुधौली तालिम केन्द्रबाट प्रहरी पुगिसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । जिल्लबाट डिएसपी दाहालको नेतृत्वमा प्रहरी टोली सडक अवरुद्ध भएको स्थानमा गइरहेको प्रजिअ नेपालले बताउनुभयो ।