सिन्धुली– बाईक रेस प्रतियोगिता भन्ने बित्तिकै सबैभन्दा छिटो बाईक कुदाउने प्रतिस्पर्धा बुझिन्छ । तर, सिन्धुलीमा सबैभन्दा ढिलो बाईक कुदाउने प्रतियोगिता आयोजना गरिएको छ । ‘बिस्तारै बाईक हाकौँ, लामो जिवन जिऔँ’ भन्ने नारासहित सिन्धुलीको मरिण गाउँपालिकाको ७ नम्बर वडामा रहेको महेश्वता स्कुल चोकमा सोमबार ‘स्लो राईड’ मोटरसाइकल प्रतियोगिता आयोजना गरिएको हो । आयोजकको नियमको परिधिमा रहेर निर्धारित गन्तव्यमा सबैभन्दा ढिला पुग्ने मोटरसाईकल चालक प्रतियोगिताको विजयी बनेका छन् । आशिष माझी र बाबु लामाले आयोजना गरेको प्रतियोगितामा सबैभन्दा ढिला बाईक चलाएर मरिण गाउँपालिका ६ धमिलेका दिपेश मैनाली प्रथम हुनुभएको छ । एफजि भि ३ बाईक चलाउनुभएका मैनालिले २० मिटरको दुरि एक मिनेट २५ मिलिसेकेन्डमा पुरा गर्नुभएको थियो । विजेता मैनालिले झण्डै छ धार्निभन्दा बढि वजन रहेको खसि पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै, मरिण गाउँपालिका ६ स्थित छापका अजय बोम्जनले २० मिटरको दुरि ५८ सेकेन्ड ६८ मिलिसेकेन्डमा पार गर्दै दोश्रो हुनुभएको छ । उहाँले केटिएम ड्युक २०० सिसिको बाईक चलाउनुभएको थियो । उपविजेता बोम्जनले दुई केजि बढि वजन भएको लोकल भाले पुरस्कार प्राप्त गर्नुभएको छ ।
विजेतालाई ईलाका प्रहरी कार्यालय कपिलाकोटका इन्चार्ज प्रहरी निरिक्षक धर्मराज खत्रि र ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) बुद्धिमान कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । उक्त प्रतियोगितामा ४८ जना बाईक राईडरले प्रतिस्पर्धा गरेका आयोजक आशिष माझीले जानकारी दिनुभयो । सडक दुर्घटनामा परि सिन्धुलीमा वर्षेनि सयौँको मृत्यु हुने गरेको बताउदैँ माझीले भन्नुभयो, ‘सडक दुर्घटनाको मुख्य कारण तिव्र गति पनि हो । त्यसैले, जनचेतनाकालागि ढिलो बाईक कुदाउने प्रतियोगिता आयोजना गरेका हौँ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार पछिल्लो चार बर्षमा १ सय ४८ जनाको सवारी दुर्घटनाको कारण मृत्यू भएको छ ।