सिन्धुली– सिन्धुलीमा फरकफरक घट्नामा दुईजना वृद्धको मृत्यु भएको छ । आईतबार खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा ६० वर्षिय वृद्धको मृत्यु भएको छ । नुहाउनेक्रममा कमला खोलाले बगाउँदा जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ का सरलु कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिनुभयो । कुमरलाई खोलाले बगाउदैँ लानेक्रममा स्थानिय बालबालिकाले देखेका थिए । बालबालिकाले हल्ला गरेपछि गाउँका मानिसहरुले कुमरलाई खोलाबाट निकालेको डिएसपि दाहालले बताउनुभयो । प्रहरीले उक्त लाशको प्रारम्भिक अनुसन्धान कार्य पुुरा गरेर पोष्टमार्टम पछि मृतकको आफन्तलाई शव बुझाएको छ ।
त्यसैगरि, शनिबार जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ५ लिटेभन्ज्याङमा ७० वर्षिय वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । सोहि ठाउँका सुब्बा विशंखेको बारीको डिलबाट लडेर मृत्यु भएको डिएसपि दाहालले बताउनुभयो । अचानक बारीको डिलबाट लडी विशंखे पाँच मिटर तल पुग्नुभएको थियो । उनलाई उपचारको लागि मध्यपुर अस्पताल भक्तपुरमा लगिएकोमा उपचारकाक्रममा मृत्यु भएको छ ।