सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शनिबारे हाट बजारमा रहेको शौचालय प्रयोग गर्न नसकिने गरी फोहोर भए पनि सरसफाइ नगरिएको स्थानीय तथा व्यापारीहरूले गुनासो गरेका छन् ।
समस्या भएको महिनौँ बितिसक्दा पनि सराकोरवालाले कुनै चासो नदिएपछि दिसा पिसाब गर्न ठूलै समस्या भएको तर, सफाइ गर्न कुनै चासो नदिएकोमा उनीहरूले गुनासो गरेका हुन् । कमलामाई नगरपालिका ६ स्थित गैरिबजारबाट दुई नम्बर बजारसम्म फैलिएकोे उक्त स्थानमा प्रत्येक शनिबार साप्ताहिक हाट लाग्ने गरेको छ । हाटमा व्यापार गर्न आउने टाढाका व्यापारीहरूका लागि सबैभन्दा ठूलो समस्या दिसा पिसाबको भएको कपडा व्यापारी आकाश कार्कीले बताउनुभयो ।
‘बजारमा अरू ठाउँमा शौचालय छैन, भएको यो शौचालय पनि यति फोहोर र दुर्गन्धित बनेको छ । साह्रै समस्या छ भनेर भन्न गयो, घरी यता जानू, घरी उता जानू मात्र भन्छन्, हामीले व्यापार गर्नु कि गुनासो लिएर कार्यालय धाउनु ?’, कार्कीले गुनासो गर्नुभयो । अर्का व्यापारी भन्छन्, ‘अर्को विकल्प नै छैन तर, प्रयोग गर्न त परै जाओस्, नजिक जान पनि नसकिने अवस्था छ ।’
‘शौचालय यति बिघ्न फोहोर छ कि जानै सकिँदैन, अरू खुल्ला ठाउँमा जान सकिँदैन । शनिबारे हाट बजार छोडेर माथिल्लो टोलको होटलमा गएर नास्ता खाएपछि बल्ल बाथरुम प्रयोग गर्न पाइन्छ । पटकैपिच्छे शौचालय जान नास्ता खानुपर्ने बाध्यताले अब त शनिबारे हाट बजार नआउने विचारमा पुगेको एक तरकारी व्यापारीले बताइन् । ‘हाटको कर हामीसँग लिने तर, दिसा पिसाबको लागि हामीले सय रुपैयाँको नास्ता खानुपर्ने बाध्यता छ । पिउने पानीको समेत व्यवस्था छैन’, उनले भनिन् ।
कमलामाई नगरपालिकाले शनिबारे हाट बजारबाट वार्षिक आठ लाख १५ हजार बढि आम्दानि गर्दै आएको छ । डिल्ली रत्न ग्रुप अफ कम्पनी प्रा.लिले शनिबारे हाट बजारमा शुल्क उठाउदैँ आएको छ ।