सिन्धुली – भुकम्प प्रभावितलाई सहयोग गर्न कमलामाई नगरपालिका कटिबद्ध रहेको बताएको छ । शुक्रबार राती जाजरकोट बारेकोट गाउँपालिका –१, रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पले पुराएको धनजनको क्षतिको समाचारले शोक सन्तप्त भएको कमलामाई नगरपालिकाले बताएको हो । आइतबार नगरपालिकाले राहत र पुनरस्थापनामा जुटौँ भन्दै सबै तहको सरकारले पिडितको साहसमा इन्धन भर्नुपर्ने बताएको छ ।
“विपदको घडिमा नै हो लोकतन्त्रले ताकत देखाउने । त्यसैले हामी तमाम नेपालीहरु राहत र पुर्नस्थापनामा जुटौ ।” नगरपालिकाद्धारा जारी पत्रमा भनिएको छ । कहालिलाग्दो भुकम्पमा परी मृत्यु हुनेको चिर शान्तिको कामना सहित घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३÷३ जना घाइते भएका छन् ।
यस्तै, ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ । त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन । त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ । सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १/१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १/१ घर क्षतिग्रस्त भएका छन् ।
