सिन्धुली– बाँकेको कोहलपुरमा संचालन भइरहेको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तर्गत सिन्धुलीको दुधौली स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेको छ । आइतबार अन्तर्राष्ट्रिय टिमलाई पराजित गर्दै दुधौली स्पोर्ट्स क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । अफ्रिकन देश क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाईब्रेकरमा ७–६ को अन्तरले दुधौली स्पोर्ट्स क्लबले जित निकालेको छ । कोहलपुर रेसिङ सहारा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको पहिलो खेल जित्दै दुधौली स्पोर्ट्स क्लब सोझै सेमिफाइनलमा पुगेको हो । उक्त खेलको म्यान अफ द म्याच विजेता टिमका खेलाडी लोकेश चौधरी घोषित हुनुभएको छ । उहाँलाई नगद पाँच हजारको चेक सहित सम्मान गरिएको छ । आज (सोमबार) फाइनलकालागि त्रिभुवन आर्मि क्लब र दुधौली स्पोर्ट्स क्लबचि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित नेपालको एक डिभिजनका ७ क्लब सहभागी छन् । प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिनुभयो ।