सिन्धुली – ऐतिहासिक तथा पर्यटकीयस्थल सिन्धुलीगढी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालय निर्माण भएपछि झण्डै साढे दुई लाख बढिले अवलोकन गरेका छन् ।
तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीले २०७८ साल साउन १३ गते उद्घाटन गर्नुभएको सिन्धुलीगढी युद्ध संग्रहालयमा २६ महिनाको अवधिमा दुई लाख ५३ हजार सात सय बढिले अवलोकन गरेको युद्ध संग्रालय प्रशासन प्रमुख रविन योन्जनले बताउनुभयो । २६ महिनाको अवधिमा प्रवेश शुल्क वापत एक करोड २२ लाख ७७ हजार २५० रुपैँया राजश्व संकल भएको योन्जनले जानकारी दिनुभयो । आन्तरिक पर्यटकमात्र नभई छिमेकी मुलुक भारत तथा तेश्रो मुलकबाटसमेत पर्यटकहरु सिन्धुलीगढी अवलोकनका लागि आउने गरेको उहाँले बताउनुभयो । भारतको उत्तर प्रदेश, बिहार, जर्मनि, कोरिया, जापान लगायतका देशबाट युद्ध संग्रहालय अवलोकन गर्न आउने पर्यटकको संख्या बढि रहेको छ ।
चाडपर्वमा सिन्धुलीगढी युद्ध संग्रहालय अवलोकन गर्नेको भिड लाग्ने गरेको छ । दसैँको फुलपातिदेखि अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म मात्र ११ हजार पाँच सयभन्दा बढी पर्यटकले युद्ध संग्रहालय अवलोकन गरेका छन् । जसबाट लगभग पाँच लाख ७७ हजार रकम संकलन भएको छ । चालु आर्थिक वर्षको साढे दुई महिनामा २५ हजार एक सय आन्तरिक र छ सय बाहय पर्यटक गरि कुल २५ हजार सात सय पर्यटकले युद्ध संग्रहालय अवलोकन गरेकोमा १२ लाख ७७ हजार रकम संकलन भएको प्रशासन प्रमुख योन्जनले बताउनुभयो ।
भारतीय पर्यटक बाहेक सबैभन्दा बढि जर्मन पर्यटकले युद्ध संग्रहालयको अवलोकन गरेको योन्जनले जानकारी दिनुभयो । युद्ध संग्रहालय अवलोकन गर्न अन्तर्राष्ट्रिय पर्यटककालागि दुई सय ५० नेपाली रुपैँया प्रवेश शुल्क राखिएको छ । एप्रिल १ गते र श्रावण महिनामा अन्तर्राष्ट्रिय पर्यटकको घुइँचो लाग्ने गरेको प्रशासन प्रमुख योन्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट धामिर्क यात्रामा आउने पर्यटक सिन्धुलीगढी अवलोकनका लागि आउने गर्नुहुन्छ । विशेषगरि, श्रावण महिनामा भारतीय पर्यटकको चाप बढि हुन्छ । एप्रिल १ मा भने जर्मनी, कोरिया, जापान लगायतका देशबाट युद्ध संग्रहालयमा पर्यटक आउने गर्नुहुन्छ ।”
सिन्धुलीगढी युद्ध संग्रहालयमा प्रवेश गर्न पाँच किसिमको शुल्क निर्धारण गरिएको छ । युद्ध संग्रहालयमा प्रवश गर्न सिन्धुलीका पर्यटककालागि २५ रुपैँया, अन्य जिल्लाका पर्यटककालागि ५० रुपैँया, विद्यार्थीकालागि २० रुपैँया, अन्तर्राष्ट्रिय पर्यटककालगि २५० रुपैँया र १० वर्ष मुनिका बालबालिका, ७० वर्षमाथिका वृद्धवृद्धा, बहालवाला सेना, नगरपालिका मातहतका कर्मचारी, जनप्रतिनिधि र पत्रकारलाई निशुल्क रहेको छ ।
सिन्धुलीगढी क्षेत्रमा पिक्निक स्पोर्ट नहुँदा ‘होलिडे’ मनाउन आएका पर्यटक निराश हुने गरेको स्थानियले बताएका छन् । सिन्धुलीगढीमा पिक्नि स्पोर्टको आवश्यकता रहेको कमलामाई नगरपालिका ३ का हरि तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसमले पनि सधैँ साथ दिने सिन्धुलीगढीमा पर्यटकालागि पिक्नि स्पोर्ट बनाउन सम्बन्धित निकायले चासो देखाउनुपर्छ ।”
ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको थियो । संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ । ६ कोठे युद्ध संग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने सिन्धुलीगढीका अन्वेषणकर्ता सागर ढकालले बताउनुभयो । ‘यो संग्रहालय र सिन्धुलीगढी परिसर खोजकर्ता र जिज्ञासुहरुलाइ राम्रो अध्ययनको थलो बनेको छ’, उहाँले भन्नुभयोे, ‘नेपालीका लागि मात्र हैन, अंग्रेजहरुलाई समेत पितापुर्खाको लडाइँका विषयमा थप कौतुहलता जगाइ डोर्याएर ल्याएको छ ।’
विजयोत्सवकालागि तयारी तिव्र :
ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा यही कात्तिक २४ गते २५६ औँ विजयोत्सव मनाईदैँ छ । युरोप बाहिर कहिल्यैकतै पराजित नभएको अंग्रेज फौजलाई गोर्खाली सेनालो सिन्धुलीगढीको पौवागढीमा पराजित गरेका थिए । विजयोत्सवलाई भव्य बनाउन सरसफाई लगायत गोडमेलका कामहरु भइरहेको कमलामाई नगरपालिकाले जनाएको छ ।