बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा चिनीको कृत्रिम अभाव सृजना गर्नेलाई कार्वाही गरिने

शुक्रवार , कार्तिक १७, २०८०

सिन्धुली– सिन्धुलीमा चिनीको कृत्रिम अभाव सृजना गर्नेलाई हदैसम्मको कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा कुनैपनि उद्योगी तथा व्यवसायीले चिनीको आयात, बजारमा आपूर्तिको अवस्था र मूूल्य एवं उपभोक्ताले सहज रुपमा चिनी प्राप्त गर्न सकिने अवस्था रहेको हुँदा कृत्रिम अभाव सृजना गर्नेलाई कानुन बमोजिम तत्काल हदैसम्मको कार्वाही हुने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभएको छ । कसैले अस्वभाविक, अनावश्यक र अमिल्दो रुपमा चिनीको बुकिङ गरेको वा बुकिङ गरेको देखाई चिनी स्टकमा राखी बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालो बजारी गर्ने वा अन्य जुनसुकै उद्धेश्यबाट अभाव सृजना हुने गरी चिनीको जम्माखोरी नगर्न/नगराउन प्रजिअ नेपालले अनुरोध गर्नुभएको छ ।

त्यसैग्रि, प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीले बिहीबार एक सूचनामार्फत चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

यस्तै प्रहरीले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको जनाएको छ । तिहारको मुखमा बजारमा कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया