सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिकामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गस्थित दुधौली नगरपालिकाको वडा नम्बर ४ जुटपानीमा बाटो काट्ने क्रममा नाम, थर, वतन नखुलेको अन्दाजी ५०/५५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजकुमार सिलवालले बताउनुभयो ।
दिउँसो साढे २ बजेको समयमा काठमाडौँबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१२५ नम्बरको यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिएको एसपी सिलवालले जानकारी दिनुभयो । घाईते महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए । मृतकको पोष्टमार्टम गरिएको र शव प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमै राखिएको छ । उदयपुर कटारी नगरपालिका ४ का ४८ वर्षिय चालक मुखलाल तामाङ र बसलाई नियन्त्रणमा लिई प्रहरी तालिम केन्द्र दुधौलीमा राखिएको एसपी सिलवालले बताउनुभयो । थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।