बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन बढे

बिहिवार , कार्तिक १६, २०८०

सिन्धुली – सिन्धुलीमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीको संख्या बढेको छ । जिल्लामा पछिल्लो समय जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी बढेसँगै कारबाहीको संख्या समेत बढेको छ । तीन महिनाको अवधिमा चार हजार सात सय २८ वटा ट्राफिक नियम विपरित चलेका सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीको संख्या बढेसँगै राजश्व समेत वृद्धि भएको छ ।

गत साउन महिनामा ट्राफिक नियम विपरित चलेका एक हजार १२ वटा सवारी कारबाहीमा परेका छन् । उक्त सवारी कारबाहीबाट ७ लाख ६७ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख यज्ञ बहादुर पालले बताउनुभयो । उहाँका अनुसार भदौ महिनामा १४ सय ९९ सवारी कारबाहीमा परेका छन् । नियम विपरित चलेका सो सवारी कारबाहीबाट ११ लाख २३ हजार राजश्व सकंलन भएको छ ।

यस्तै असोज महिनामा २२ सय ५ सवारी साधन कारबाहीमा परेका छन् । नियम विपरित चलेका उक्त सवारी कारबाहीबाट १७ लाख १६ हजार पाँच सय राजश्व संकलन भएको प्रमुख पालले बताउनुभयो । ट्राफिक नियम उल्लंघन गर्ने सबै भन्दा बढी दुई पांगे्र सवारी छन् ।

साउन महिनामा २ सय ७६ वटा मोटसाइकल स्कुटर कारबाहीमा परेका छन् । सवारी कागजपत्र साथमा नबोक्ने, तीव्र गतिमा चलाउने, मापसे गरेर चलाउने लगाएत ट्राफिक नियम पालना नगर्ने उक्त मोटसाइकल स्कुटर कारबाहीमा परेको ट्राफिक प्रमुख पालले बताउनुभयो । सो महिनामा २ सय ४८ वटा जिप कार, १ सय ४० वटा बस, १ सय २४ वटा ट्रक, ९८ वटा ट्याक्टर र १ सय १६ वटा अटो कारबाहीमा परेका हुन् । भदौ महिनामा ५ सय ७२ वटा मोटसाइकल स्कुटर कारबाहीमा परेका छन् । १ सय ४३ वटा ट्रक, १ सय ३० बस, ३ सय ६६ जिप,कार, १ सय १९ ट्याक्टर र १ सय ६७ अटो कारबाहीमा परेका छन् । असोज महिनामा ६ सय ४२ मोटरसाइकल, ५ सय ६० जिप कार,२ सय ४७ ट्रक, १ सय ४८ बस, १ सय ८८ ट्याक्टर र ४ सय २० अटो कारबाहीमा परेको पालले जानकारी दिनुभयो ।

यसरी नियम विपरित चलेका सवारी साधन दैनिक कारबाहीमा पर्ने गरेको उहाँको भनाइ छ । कारबाहीमा परेपनि नियम विपरित सवारी चलाउनेको संख्या बढेको उहाँ बताउनुहुन्छ । “जरिवाना र कारबाही गर्दा पनि नियम उल्लंघन गर्ने गरेको पाइयो । दैनिकजसो पचास देखि एक सय सम्म उल्लंघन गर्नेहरू हुन्छन्,” उहाँले भन्नुभयो ।

ट्राफिक व्यवस्थापनका लागि नियमित चेकजाँचका क्रममा नियमविपरीत पार्किङ, मापसे गरी सवारीसाधन चलाएको, क्षमताभन्दा बढी यात्रु बोकेको, मालबाहक सवारीसाधनमा क्षमताभन्दा बढी सामान बोकेको जस्ता विषयमा कारबाहीमा परेको उहाँले बताउनुभयो । जिल्लामा तिन ठूला राजमार्ग रहेकाले सवारीसाधनको चाप बढि हुने र ट्राफिक नियम उल्लंघन पनि बढि हुने उहाँको भनाइ छ । जिल्लामा विपी राजमार्ग र मदन भण्डारी राजमार्ग हुदैँ दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछ ।

प्रतिक्रिया